काठमाडौं।राष्ट्रिय सभाका सांसद तथा पूर्व परराष्ट्रमन्त्री डाक्टर विमला राई पौड्यालले, स्वार्थ बाझिने गरी सांसद बनाउने गरिएको भन्दै कडा आक्रोश पोखेकी छिन् ।
राष्ट्रिय सभाको आजको बैठकमा उनले , समिट अपार्टमेन्ट निर्माणस्थल भासिँदा आसपासका घरमा पुगेको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउँदै, होटल निर्माणका लगानीकर्ता सांसदलाई के हुन्छ भन्दै आक्रोश पोखिन् ।
उनले भनिन् ‘मेरो सरकारलाई प्रश्न चै यो विषयमा छानविन हुन्छ कि हुँदैन ? क्षतिपूर्ति त्यो वरिपरिका मान्छेलाई के हुन्छ ? अनि हाम्रो सांसद ज्यूलाई के हुन्छ ? जसले कानून हातमा लिएर नक्सा पास पनि नगरी वातावरणीय प्रभाव पनि मूल्याङ्कन नगरी घर बनाउनु भएको छ ।’
स्वार्थ बाझिने गरी सांसद बनाउने काम राजनीतिक दलले कहिले सम्म गर्ने ? उनको प्रश्न छ ।
‘त्यो समिट अपार्टमेन्ट ६ अर्ब रुपैयाँको लगानीमा बन्दै गरेको भवन वातावरणीय मूल्यांकन नगरिकनै, नक्सा पनि पास नगरिकनै, बनाइएको थियो । त्यसको मालिक अझै पनि नेपाली काङ्ग्रेसबाट सांसद हुनुहुन्छ । हामीले राजनीतिक दललाई पैसा चाहिएर हो कि, व्यापारिक ज्ञान चाहिएर हो थाहा छैन् । सांसदमा छिराएका छौ ।’
त्यस्तै उनले गृहमन्त्रालयले मिटर व्याज पीडितको माग सम्बोधनका लागि के गरिरहेको छ, त्यसबारे सदनमा जानकारी गराउन पनि ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया