×

एनपीएलको अक्सन आज, कुन फ्रेन्चाइजीले कति खेलाडी किन्दैछन् ?

images

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनी अक्सन आज हुँदैछ ।  आज दिउसो ३ बजेदेखि ललितपुरको बालकुमारीस्थित रोयल तुलिपमा अक्सन हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।  

अक्सनमा १५० खेलाडीबाट विभिन्न ८ फ्रेन्चाइजीले ३७ खेलाडी खरिद गर्ने क्यानले जानकारी दिएको छ । पहिलो संस्करणपछि कुल ३८ खेलाडी रिलिज गरिएकोमा कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट विपिन शर्मालाई टोलीमा आवद्ध गरेसँगै आजको मिनि अक्सनबाट ३७ खेलाडीमाथि फ्रेन्चाइजीले बोली लगाउने छन् ।

मिनी अक्सनका लागि क्यानले १५० खेलाडी छनोट गरेको छ । जसमा ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी रहेका छन् । 

क्यानसँगको सम्झौताअनुसार रिटेन भएका खेलाडीको मुल्य १० प्रतिशतले वृद्धि हुनेछ भने रिलिज भएका र नयाँ खेलाडीको हकमा भने न्यूनतम मूल्य ग्रेड ‘ए’ मा रहेका खेलाडीको १० लाख ‘बी’ मा रहेका खेलाडीको ५ लाख र ‘सी’ मा रहेका खेलाडीको २ लाख कायम गरिएको छ । एनपीएलमा हरेक फ्रेन्चाइजीले खेलाडी किन्न अक्सनमा बढीमा ९० लाखसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ । 

हाल कुन फ्रेन्चाइजीमा कुन खेलाडी छन्:  

जनकपुर बोल्ट्स

जनकपुर बोल्टसमा हाल आसिफ शेख (मार्की), अनिलकुमार शाह, ललित राजवंशी र किशोर महतो, रुपेश सिंह, शुभ कंशाकर र तुलबहादुर थापामगर गरि ७ खेलाडी छन् भने आजको अक्सनबाट थप ४ खेलाडी किन्ने छ । जनकपुरले खेलाडी रिटेनमा ५७ लाख खर्च गरेको छ भने अब उसको अक्सन बजेट ३३ लाख रहेको छ । 

चितवन राइनोज

चितवनमा हाल कुशल मल्ल (मार्की), रिजन ढकाल, कलमसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा र गौतम केसी गरी ६ खेलाडी रहेका छन् भने अब अक्सनबाट ५ खेलाडी किन्ने छ । चितवनले खेलाडी रिटेनमा ३२ लाख खर्च गरेको छ भने अक्सनको बजेट ५८ लाख रहेको छ । 

काठमाडौं गुर्खाज

काठमाडौँमा हाल करण केसी (मार्की), भीम सार्की, शाहब अलाम, रसिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठ गरि ६ खेलाडी रहेका छन् भने अब आजको अक्सनमा ५ खेलाडी किन्ने छ । चितवनले रिटेन गरेका खेलाडीमा ४७ लाख खर्च गरेको छ भने अक्सन बजेट ४३ लाख रहेको छ । 

पोखरा एभेन्जर्स

पोखरामा हाल कुशल भुर्तेल (मार्की), सागर ढकाल, आकाश चन्द,  किरणकुमार ठगुन्ना, बिपिन खत्री, त्रितराज दास र दिनेश खरेल गरि ७ खेलाडी रहेका छन् भने पोखराले अब आजको अक्सनमा ४ खेलाडी किन्ने छ । पोखराले खेलाडी रिटेनमा ५२ लाख ५० हजार खर्च गरको छ भने अब अक्सन बजेट ३७ लाख ५० हजार रहेको छ । 

लुम्बिनी लायन्स

लुम्बिनीमा हाल रोहित कुमार पौडेल (मार्की), विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेश गौतम गरि ६ खेलाडी रहेका छन् भने आजको अक्सनबाट ५ खेलाडी किन्ने छ । लुम्बिनीले खेलाडी रिटेनमा ४४ लाख ७५ हजार खर्च गरेको छ भने अक्सन बजेट ४५ लाख २५ हजार रहेको छ । 

कर्णाली याक्स

कर्णालीमा हाल सोमपाल कामी (मार्की), गुलशन झा, नन्दन यादव,  अर्जुन घर्ति, दिपेन्द्र रावत र युनिशबिक्रम सिंह ठकुरी रहेका छन् भने  विपिन शर्मा ट्यालेन्ट हन्टबाट लिएको छ । कर्णालीले विपिन बाहेक रिटेन खेलाडीका लागि ४१ लाख खर्च गरको छ भने विपिन शर्माको पारिश्रमिकसहित अक्सनका लागि ४९ लाख बजेट रहेको छ । कर्णालीले अक्सनमा ४ खेलाडी किन्ने छ । 

सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी (मार्की), अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे र नरेन साउद गरि ६ खेलाडी रहेका छन् भने आजको अक्सनबाट ५ खेलाडी किन्ने छ । सुदूरपश्चिमले खेलाडी रिटेनमा ४८ लाख ५० हजार खर्च गरको छ भने  अक्सन बजेट ४१ लाख ५० हजार रहेको छ । 

विराटनगर किंग्स

विराटनगरमा सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी र नरेन भट्ट गरि ६ खेलाडी रहेका छन् भने आजको अक्सनमा ५ खेलाडी किन्ने छ । विराटनगरले खेलाडी रिटेनमा ४४ लाख ५० हजार खर्च गरेको छ भने अक्सन बजेट ४५ लाख ५० हजार रहेको छ ।

शनिबार २५ साउन २०८२ ०८:३७ AM मा प्रकाशित

प्रतिक्रिया