×

६ महीनामा १० खर्ब आयात, विदेशी मुद्राको सञ्चिती झनै घट्यो

images

नेपाल राष्ट्र ब्यांकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनका अनुसार पुसमा देशसँग भएको सञ्चिती ९ अर्ब ८९ करोड डलरमा झरेको छ। यो मंसीरमा १० अर्ब ३ करोड डलर थियो।

पछिल्लो ६ महीनामा विदेशी मुद्राको सञ्चिती तिव्र रुपले घट्दै गएको छ। गत असारमा ११ अर्ब ७५ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिती चालु आर्थिक वर्षको पहिलो ६ महीनाभित्रै १५.९ प्रतिशतले घटेको छ।

नेपालसँग पुसमा भएको विदेशी मुद्राको सञ्चितीले ६ महीना १८ दिनको मात्रै वस्तु र सेवाको आयात धान्न पुग्छ। पछिल्लो एक वर्षमा नेपालले विदेशी मुद्राको सञ्चिती करीब २९ प्रतिशतले गुमाइसकेको छ। २०७७ पुसमा देशसँग १२ खर्ब ७८ अर्ब डलर बराबरको विदेशी मुद्राको सञ्चिती थियो।

पुसमा पनि अर्थतन्त्रका सूचकहरू चुनौतीपूर्ण नै देखिएका छन्। चालु आर्थिक वर्षको पहिलो ६ महीनामा चालु खाताको घाटा रु. ३ खर्ब ५४ अर्ब पुगेको छ। यो अहिलेसम्मकै उच्च घाटाको अवस्था हो।

त्यसैगरी, देश भित्रिने र बाहिरिने रकमबीचको अन्तरलाई जनाउने शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोड घाटामा छ। एक महीनाअघि शोधनान्तर घाटा १ खर्ब ९५ अर्ब थियो। एक महीनाकै बीचमा करीब ४६ अर्ब शोधनान्तर घाटा थपिएको छ।

आयातलाई निरुत्साहित गर्न नेपाल राष्ट्र ब्यांकले विभिन्न कदम चाले पनि तिनले धेरै काम गर्न नसकेको देखाएको छ। यो आर्थिक वर्षको पहिलो ६ महीनामा देशले ९ खर्ब ९९ अर्ब ३४ करोड बराबरको सामान आयात गरेको छ। यो गत वर्षको यही अवधिको तुलनामा ५१.१ प्रतिशत हो। तर, निर्यात भने १ खर्ब १८ अर्ब ८५ करोड बराबरको मात्रै भएको छ।

यो वर्षको पहिलो ६ महीनामैं देशले वैदेशिक व्यापारमा रु. ८ खर्ब ८० अर्ब घाटा बेहोरिसकेको छ।

पुसमा रेमिटेन्समा भने सुधार देखिएको छ। पुससम्म देशमा ४ खर्ब ६८ अर्ब ४५ करोड रेमिटेन्स भित्रिएको छ। मंसिरमा ७६ अर्ब १६ करोड रेमिटेन्स भित्रिएको थियो भने पुसमा बढेर ७९ अर्ब ८७ करोड पुगेको छ। यो पोहोर सालको पुसको तुलनामा भने ५.५ प्रतिशत थोरै हो।

पुसमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ५.६५ प्रतिशतमा ओर्लिएको छ। मंसीरमा यस्तो वृद्धि ७.११ प्रतिशत पुगेको थियो।

यद्यपि, गत वर्षको तुलनामा वस्तु र सेवाको मूल्यवृद्धि उच्च छ। गत वर्षको यही अवधि (पुस) मा उपभोक्ता मूल्यवृद्धि ३.५६ प्रतिशत थियो।
 

बुधबार २६ माघ २०७८ ०४:३० PM मा प्रकाशित

प्रतिक्रिया