×

पुलिसको बिजयी अभियान जारी

images

विभागिय क्लब नेपाल पुलिस क्लबले सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिला तर्फ बिजयी अभियानलाई जारी राखेको छ । पहिलो दिन नयाँबजार सामाजिक युथ क्लबमाथी जित हात पार्दै ३ अंक जोडेको पुलिसले दोश्रो दिन पनि एभरेष्ट भलिबल क्लब माथी जित निकाल्दै विजयी अभियानलाई निरन्तरता दिएको हो । समूह ए मा रहेको पुलिसले एभरेष्टलाई २५–१४, २५–९ र २५–६ को सहज जित निकाल्दै आफ्नो खातामा ६ अंक जोडेको छ ।
यसै समूहमा रहेको साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले नयाँबजार सामाजिक युथ क्लबलाई ३–० सेटमा पराजित गर्दै आफ्नो खातामा महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ । न्यू डायमण्डले नयाँबजारमाथी २५–२, २५–८ र २५–६ को सहज जित निकालेको हो ।
नेपाल भलिबल संघको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको च्याम्पियनसिपको पुरुष तर्फको खेलमा टिप टप हेल्पनेपाल भलिबल क्लबले जित हात पारेको छ । हेल्पनेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई २५–१६, २५–१९ र २५–१६ को सहज सेटमा पराजित गर्दै ३ अंक प्राप्त गर्न सफल भएको हो । यस्तै पुरुषको अर्को खेलमा बागमती प्रदेशको केशवलाल स्मृती प्रतिष्ठानले मधेश प्रदेशलाई २५–२१, २५–२३, २९–२७ र २५–१७ ले पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ ।
आजै भएको अर्को खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले मणी मुकुन्द भलिबल क्लबलाई पराजित गर्दै आफुलाई अंक तालिकाको अग्रस्थानमा राखेको छ । आर्मीले मणी मुकुन्दलाई २५–११, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गर्दै थप ३ अंक जोडेको हो । यस अघि च्याम्पियनसिपको पहिलो दिन भएको खेलमा पनि सेनाले दावाली मिलन केन्द्रलाई पराजित गर्दै ३ अंक जोडेको थियो । यो संगै सेनाको ६ अंक भएको छ ।

सोमबार २५ पुस २०७९ ०९:३२ PM मा प्रकाशित

प्रतिक्रिया