×

विराटनगर सजिलै क्वालिफायरमा

images

काठमाडौं । विराटनगर सुपर किंग्सले काठमाडौं नाइट्सलाई सोमबार सजिलै ९९ रनले पराजित गर्दै नेपाल टी–ट्वान्टीको दोस्रो क्वालिफायर खेल्ने भएको छ । अब फाइनल प्रवेशका लागि विराटनगरले मंगलबार हुने खेलमा जनकपुर रोयल्सको सामना गर्नेछ । टीयू क्रिकेट मैदानमा भएको इलिमिनेटरमा काठमाडौंले जितका लागि १ सय ८३ रनको लक्ष्य पाएको थियो ।

तर काठमाडौंको स्थिति भने खेल अगाडि नै अनुकुल थिएन् । उसका सबै विदेशी खेलाडी फर्किसकेको हुनाले यस खेलमा नेपाली खेलाडी मात्र उतार्न बाध्य रह्यो । यस्तोमा खराव ब्याटिङको नमुना पेस गर्दै काठमाडौंले १२.४ ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो । उसका लागि ११ औं क्रमका ब्याटर अभिनाश बोहराको १६ रन नै उच्च व्यक्तिगत स्कोर रह्यो ।

कप्तान ज्ञानेन्द्र मल्लले बल्लतल्ल १५ रन बनाए । उसका सात ब्याटर एकोहोरो अंकमै सीमित रहे । सूर्य तामाङ बलिङमा नायक सावित भए र उनले घातक गर्दै १४ रन मात्र खर्चेर चार विकेट लिए । विराटनगरले टस जितेर पहिले ब्याटिङको निर्णय गर्दै छ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

त्यसमा ‘प्लेयर अफ द म्याच’ रोहित पौडेलले ४९ बलमा ६१ रन बनाए । कप्तान रोहितले छ चौका र दुई छक्का प्रहार गरे । यस्तै विवेक यादवले १८ बलमा आक्रामक ४६ रन थपे । उनले तीन चौका र तीन छक्का प्रहार गरे । दोस्रो क्वालिफायरमा विजयी हुने टिमले फाइनलमा लुम्बिनी अल स्टार्सको सामना गर्नेछ । 

सोमबार २५ पुस २०७९ ०९:३० PM मा प्रकाशित

प्रतिक्रिया