×

नेपोली र बार्सिलोना अगाडि बढ्दै

images


पेरिस । युरोपेली क्लब फुटबलका दुई ठूला लिग हुन्, इटालीको सिरी ए र स्पेनको ला लिगा । यिनै लिगमा आइतबारका खेलपछि शीर्ष स्थानमा स्पष्ट अग्रता देखिएको छ । नेपोलीले सिरी ए को शीर्ष स्थानमा सात अंकको अग्रता खोलेको छ । नेपोलीले १० खेलाडीमा सीमित भएको साम्पडोरियालाई २–० ले हराएपछि क्लब मजबुत स्थितिमा आएको हो ।
नेपोलीले भिक्ट ओसिमनको गोलले अग्रता लिएको थियो र  खेलको अन्त्यतिर एलिफ इलमसले पेनाल्टीबाट दोस्रो गोल थपेका हुन् । यो जितपछि नेपोलीको १७ खेलबाट ४४ अंक भएको छ । उसको पछाडि समान ३७ अंकमा युभेन्ट्स र एसी मिलान रहेको छन् । मिलान अर्को खेलमा एएस रोमासँग २–२ को बराबरीमा रोकियो । इन्टर मिलान ३४ अंकमा चौथो स्थानमा छ ।
उता स्पेनमा बार्सिलोनाले लिग तालिकाको शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिएको छ । यसका लागि ओसमन डेम्बेलेले पहिलो हाफमा गरेको गोलको मदतले बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई १–० ले हरायो । यो जितपछि बार्सिलोनाको ४१ अंक भएको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ र उसको ३८ अंक छ ।
एटलेटिको भने हारसँगै पाँचौं स्थानमा झरेको छ । रियल सोसिडाड तेस्रो स्थानमा छ भने रियल बेटिस चौथोमा । यता इंग्ल्यान्डमा अहिले एफएकप चलिरहेको छ । यसै प्रतियोगिताको आइतबारको प्रमुख खेलमा म्यानचेस्टर सिटीले चौथो चरण प्रवेशका लागि चेल्सीमाथि सजिलो ४–० को जित निकालेको छ । 

सोमबार २५ पुस २०७९ ०१:०४ PM मा प्रकाशित

प्रतिक्रिया