×

ऋषि कट्टेलले मुद्दा हालेर नेकपा फुटाइदिए : प्रचण्ड

images

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान नेपालले काठमाण्डाैमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

अध्यक्ष दाहालभन्दा अगाडि मन्तव्य राख्नुभएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली कांग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गर्नुभएको थियो । त्यही टिप्पणीको जवाफ दिँदै उहाँले कम्युनिस्ट आन्दोलनलाई एक बनाउँदा फुटाउनका लागि अदालत गएको भन्दै कट्टेलप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले तत्कालीन नेकपा फुटाउन अदालत जानेले संविधान र गणतन्त्रको रक्षाका लागि गरिएको कामलाई गलत भन्न नहुने बताउनुभयो । उहाँले कट्टेललाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? किन त्यो आदर्शमा लाग्नुभएन ? भन्ने प्रश्नसमेत गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘ऋषिजीलाई म यतिमात्रै भन्न चाहन्छु– ऋषिजी, तपाईँ जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? तपाईँ त्यो आदर्शमा किन लाग्नुभएन ? नेपालको कम्युनिस्ट आन्दोलनलाई एक बनाउनुपर्छ भन्दा यसलाई फुटाउनुपर्छ भनेर अदालतमा जाने तपाईँ नै होइन र ? अनि अहिले कांग्रेससँग मिल्यो भनेर तपाईँले भन्न मिल्छ ? संविधान र गणतन्त्रको रक्षाका लागि गरिएको कामलाई ।’

कार्यक्रममा बाेल्दै अध्यक्ष दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म कार्यान्वयन नभएको बताउनुभयो । उहाँले याे निर्णय कार्यान्वयनका लागि लडाइँ गरिरहेको पनि बताउनुभयो । माओवादी केन्द्रप्रति नकारात्मक प्रहारहरू भइरहेको भन्दै उहाँले प्रतिक्रियावादीहरूको विरुद्धमा आफू सङ्घर्षमा नै रहेको जिकिर गर्नुभयाे । 

बिहीबार २३ भदौ २०७९ ०५:५८ PM मा प्रकाशित

प्रतिक्रिया