×

रंगेलीका मेयर माओवादीबाट निष्कासित

images

विराटनगर । नेकपा एमाले प्रवेश गर्ने तयारी गरेपछि नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल (बगडिया) लाई पार्टीबाट निष्कासन गरेको छ ।

माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै पार्टीले २०७८ साल फागुन १५ गतेदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनलाई निष्काशन गरेको जनाएका हुन् । 

उनलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार रंगेली जादै छन।  मेयर बगडियालाई पार्टीको चुनाव चिन्हबाट नगर प्रमुखमा निर्वाचित भएकोले नगर प्रमुख पदबाट निस्कासन गर्न पार्टीको केन्द्रीय कार्यालयमार्फत निर्वाचन आयोगलाई सिफारिस गरेको पनि माओवादी केन्द्रले जनाएको छ ।

नेकपाको एकता टुटेपछि बगडिया एमालेसँग नजिकिएका थिए। माओवादी केन्द्रका बैठक छल्दै आएका उनलाई माओवादीले स्पष्टीकरण सोधेको थियो। तर, उनले आफू पार्टीमा प्रतिबद्ध रहेको जवाफ दिएका थिए। स्थानीय तहको कार्यकाल सकिएर अर्को चुनाव घोषणा भएपछि उनले एमाले प्रवेश गर्ने सार्वजनिक घोषणा गरेका थिए। 


 

मङ्गलबार २४ फागुन २०७८ ०१:१८ PM मा प्रकाशित

प्रतिक्रिया