×

आज नारी दिवस

images

 काठमाडौं । ‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । खासमा अन्तर्राष्ट्रिय नारी दिवस एक मजदुर आन्दोलनको उपज हो । यसको विजारोपण सन् १९०८ मा भएको थियो । जब १५ हजार भन्दा बढी महिला न्युयोर्क शहरमा जुलुस निकाले आफ्ना काम गर्ने घण्टा कम गर्न माग गर्दै सडकमा ओर्लिएका थिए । उनीहरुले राम्रो पारिश्रमिक दिन र मतदानमा आफ्नो अधिकारको माग गरेका थिए ।

यस आन्दोलनको एक बर्षपछि अमेरिकाको सोशलिष्ट पार्टीले महिला दिवसको घोषणा गर्यो । अब यो दिनलाई अन्तर्राष्ट्रिय महिला दिवस बनाउने सिलसिलेवार घटनाहरु भएको पाइन्छ । सन् १९१० मा कोपनहेगनमा क्लारा जेटकिनले एक महिला अन्तर्राष्ट्रिय कन्फेरेन्सका क्रममा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाव दिएकी थिइन् । सो कन्फेरेन्समा १७ देशका सय महिला उपस्थित रहेका थिए । सबैले यो सुझावको समर्थन गरेका थिए । यसको महिलो बर्ष १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विटजरल्याण्डमा महिला दिवस मनाइएको थियो ।

तर ८ मार्च नै किन रोजियो भन्ने प्रसंग अझ रोचक रहेको छ । क्लाराले अन्तर्राष्ट्रिय महिला दिवस मनाउन कुनै मिति तोकेकी थिइनन् । सन् १९१७ मा आन्दोलनका क्रममा रुसमा महिलाहरुले ुब्रेड एण्ड पिसु अर्थात खाना र शान्तिको माग गरेका थिए । महिलाहरुको हड्तालले सम्राट निकोलसले पद नै छोड्नु परेको थियो । त्यसपछि बनेको अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार दियो । त्यति बेला रुसमा जुलियन क्यालेन्डरको प्रयोग हुन्थ्यो । उनीहरुले आन्दोलन शुरुगरेको दिन फेब्रुअरी २३ थियो भने ग्रेगेरियन क्यालेन्डर अनुसार सो दिन मार्च ८ थियो ।

यसरी सोहि दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालियो ।नारी दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपतिले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन आह्वान गरेकी छन् ।उनले भनेकी छन्, ‘महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानूनसमेत अभ्यासमा ल्याएका छौँ । फलतः मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ । पछिल्लो समयमा लैंगिक समानताका विभिन्न सूचकहरूमा नेपालले प्रगति गर्दै आएको देखिएकाले हाम्रा प्रयासहरू परिणाममुखी हुने चरणमा छन् भन्न सकिन्छ । यसबाट नेपाली महिलाहरूको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्छ ।’

उपराष्ट्रपति पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने उल्लेख गरेका छन् । महिला राजनीतिक, सामाजिक तथा आर्थिकरूपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव नहुने उनको भनाइ छ ।
प्रधानमन्त्री देउवाले नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको स्मरण गराएका छन् ।

संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैंगिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
 

मङ्गलबार २४ फागुन २०७८ ०१:३० PM मा प्रकाशित

प्रतिक्रिया