×

२४ दिन परसरि सक्यो भन्ने कुरा दृष्टिभ्रम मात्र हो

images

कुनै दलदल भएको जमिनमा टेक्न गइयो भने डुव्दै जान सक्छ यो स्वभाविक हो । त्यसैले दलदल नभएको ठाउंमा टेक्नु पर्यो  तव डुव्ने संभावना हुंदैन । पर्वसुधार पर्वसुधार भन्दै चिच्याएर मात्र हुंदैन टेक्ने ठाउं गलत  भएपछि त्यहाँ नमिलेको देखापर्नु स्वभाविक नै हुन्छ । त्यसरी पर्व सुधार भनेर कराउंदै आउनेहरुले  अहिले जुन संवत्लाई विक्रमसंवत् भन्दै आइरहेको हो त्यसको कुनै धरातल नै छैन भन्ने कुरा अध्ययन नै गरेको छैन । अर्को कुरा अहिले इस्वी संवत् भन्दै आइरहेको हो त्यो जुलियन अनुकूलको पनि होइन र ग्रेगोरियन अनुकूलको पनि होइन भन्ने कुरा अध्ययन नै गरेको छैन भने त्यहाँ नमिलेको देखा पर्नु कुनै आश्चर्य मान्नु परेन । यो त दन्त्यकथाको लाटोबुंगोको कथामा के तिम्रो छोरीको सिंग पनि छ ?के तिम्रो छोरीको पुच्छर पनि छ ? भने जस्तैको कुरा भइहाल्यो नि ।

विक्रमसंवत्लाई नचिनेपछि

ऐना हुंदाहुंदै कुवा खोज्न जानै पर्दैन भने झैं अभिलेख हुंदाहुंदै कसैको भनाइको पछि भौंतारिनु पर्दैन भन्ने कुरा थाहा हुनु पर्ने हो । पाटन उकुवहीको नेसं ५११ को ताम्रपत्र अभिलेख धेरै पुस्तकहरुमा प्रकाशित छन् । त्यसमा उल्लेखित संवत् प्रकरण यस प्रकारको छ 

अथ कलिराजवर्ष ४४९२ विक्रमराजवर्ष १४४४ शकराजवर्ष १३१३ श्रीमत् नेपालिकः श्रेयोस्तु ।। समवत् ५११ प्रथमाषाढ शुक्ल दशम्यायां.........सोमवासरे......।।
                                                                               पूर्वमध्यकालका अभिलेख पृष्ठ १८२ 

यो अभिलेखको संवत् प्रकरणले के स्पष्ट पार्छ भने अभिलेख कुंद्ने र कुंद्न लगाउनेले शकसंवत् के हो पनि चिनेन र विक्रमसंवत् के हो भन्ने पनि चिनेन । त्यतिमात्र पनि होइन तत्कालीन समयका विद्वानहरुलाई नै त्यो कुरा थाहा छैन । यदि थाहा भएको त्यस्तो त्रुटीपूर्ण प्रकरण उल्लेख हुंदै हुंदैन । 
यस प्रकरणमा नेपालसंवत ५११, कलिराजवर्ष ४४९२ ,शकराजवर्ष १३१३ भनी उल्लेख भइरहेका छन्  भने विक्रमराज वर्ष भनेर १४४४ उल्लेख भइरहेका छन् । यसमा १३१३ लाई शकसंवत् मानेको पनि गलत र १४४४ लाई विक्रमसंवत् मानेको पनि गलत छ । किनभने यहाँ नेसं ५११ र शक १३१३ को बीच  ८०२ वर्षको अन्तर देखापर्नु पनि गलत र नेसं ५११ र विसं १४४४ बीचको अन्तर  ९३३ देखापर्नु पनि गलत छन् । भनाइको तात्पर्य यही कि २४ दिन सरि सक्यो भनेर हल्ला गरी चिच्याउनेहरुले विक्रमसंवत् समात्नु हुंदैन भन्ने अहिलेसम्म बुझेकै रहेन छ  । 

पाटीको शिलालेख
नेपालसम्वत् ८०८ श्री कलिगत ४७८९ श्री विक्रम १७८९ श्री शक १६१०श्रावणमासे शुक्ल पक्षे पूर्णमास्यान्तिथौ  श्रवण नक्षत्र सौभाग्य योगे यथाकरण मुहूर्तके बुधवासरे
                                                                           भक्तपुरका मध्यकालीन अभिलेख पृष्ठ६६
सुनधाराको अभिलेख
सम्वत् ८०८ ।। कलि ४७८९ ।। विक्रम १७४५।। शाके १६१० वैशाख शुदि तृतीया शुभ ।।
                                                                                भक्तपुर राजदरवार पृष्ठ २००

त्यस्तै गरि भपु दरवार भित्र सुनधारा चोकमा सुनधाराको अभिलेखमा नेसं ८०८  अंकित छ  र त्यहीं  सुनधारा माथिको पाटीमा पनि नेसं ८०८ नै अंकित  छ । यसरी एउटै नेपालसंवत् ८०८ मा  धाराको अभिलेखमा  विक्रमसंवत् १७४५ छ भने पाटीमा रहेको अभिलेखमा  विक्रमसंवत् १७८९ दिइएको छ । यसबाट पनि तत्कालीन समयमा विक्रमसंवत् के हो भन्ने कुरा चिन्न सकेको थिएन भन्ने प्रमाणित हुन्छ । 
नेपालसंवत् ८१८ कलिगत ४७९९ श्रीविक्रम १७९९ श्रीशक१६२० फाल्गुणमासे शुक्लपक्षे नवम्यां तिथौ, मृगशिरनक्षत्रे विस्कम्भयोगे यथाकरनमुहूर्तके बुधवासरे कुम्भराशिगते सवितरि मिठुनराशिगते चन्द्रमसि ।। 
                                   भक्तपुरका मध्यकालीन अभिलेख पृष्ठ७९

 फेरि अर्को भपु दरवार मालती चोकको नेसं ८१८ को अभिलेखमा कलिगत, विक्रम र शक संवत् उल्लेख छन् त्यसमा कलिगत ४७९९ विक्रम १७९९ श्रीशक १६२० उल्लेख भएका छन्  । यसबाट पनि नेसं ८१८ हुंदा शक कति , विक्रमसंवत् कति हुनु पर्दथ्यो भन्ने कुरा तत्कालीन समयमा  ज्ञात थिएन भन्ने स्पष्ट हुन्छ । 


शाकाव्द १६९० विक्रमाव्द १८२५ कलिगताव्द ४८६९ नेपालसम्वत् ८८८ कार्तिक वदि १० ।।
                                                                भक्तपुरका मध्यकालीन अभिलेख पृष्ठ१५२

 त्यस्तै अर्को भपु  क्वाथनुमठको शिलालेखमा नेसं ८८८ कार्तिक वदि १० मिति उल्लेख छ  । यस प्रकरणमा शाकाव्द भनी १६९० विक्रमाव्द भनी १८२५ र कलिगताव्द भनी ४८६९ दिइएको छ । यसले पनि तत्कालीक समयमा नेसं ८८८ कार्तिकमा विक्रमसंवत् कति हुनुपर्ने र शकसंवत् कति हुनु पर्ने भन्ने ज्ञात थिएन भन्ने कुरा प्रष्ट  हुन्छ । तव २४ दिन सरि सक्यो भनेर हल्ला गरी चिच्याउनेहरुले विक्रमसंवत् समात्नु हुंदैन भनेर हेक्का राख्नु पर्दथ्यो । तर यसबारेमा कसैले चासो नै नराखी एक तमासले पर्वसुधार गर्ने भनेर कराउंदै आइरहेका छन् ।

 
इस्वीसंवत्लाई नचिनेपछि 
पाटन उकुवहीको नेसं ५११ को ताम्रपत्र अभिलेखमा उल्लेखित मितिको इस्वी संवत् अनुसार साल महिना र तारिख बार सूत्र अनुसार होइन बाकाइदा गणना गरेरै पत्ता लगाउन सकिन्छ ।  त्यही भएर यसको तारिख गणना सहित को लेख इलोहं पव्लिकेशन प्रालि जमलबाट प्रकाशित नेवारलायण्ड अंग्रेजी भाषामा प्रकाशित जर्नल वर्ष १० अंक ८ सेप्टेम्वर अक्टोवर २०२२ नेपालसंवत् ११४२ कौला १असोज २०७९ को अंकमाResolving Confussion in Nepal's  Mediaval History  शीर्षकको लेख छापिसकेको छ । यसलेखमा नेसं ५११ प्रथमाषाढ शुक्ल दशमी उप्रान्त एकादशी सोमवार को तारिख गणना AD 1390 July 18 Monday।तद्नुसार विसं १४४७ श्रावण २ गते पर्दछ भनी दिएको हो । इस्वी १५८२ देखि मात्र ग्रेगोरियन क्यालेण्डर आएको हुनाले इस्वी १३९० भनेको जुलियन क्यालेण्डर अनुसारको हो भन्न सकिन्छ । 


गत २०८० साल पुस २४ गते मंगलवारको दिन इसन्चारपाटी डट कम अनलाइनमा अनन्त चतुर्दशीको शुभसाइतमा राष्ट्रनिर्माताको संकल्प पूरा शीर्षकको लेखमा गोरखाका राजा पृथ्वीनारायण शाह कान्तिपुरको राजसिंहासनमा आएर बसेको दिन नेसं ८८८ भाद्रशुक्ल चतुर्दशी इन्द्रजात्रा आइतवारको तारिख गणना सहितको लेख प्रकाशित भएको छ । यसलेखमा नेसं ८८८ भाद्र शुक्ल चतुर्दशी आइतवार को तारिख गणना ब्म् ज्ञठटड क्भउतझदभच द्दछ क्गलमबथ ।तद्नुसार विसं १८२५ असोज ११ गते पर्दछ भनी दिएको हो ।


साँच्चै इस्वी संवत् के रहेछ त भनी जिज्ञासा राख्न चाहनेहरुले यी कुरामा चासो राख्ने गर्दछ ।   
१.ई १५८२ भन्दा अगाडिको इस्वीसंवत्लाई जुलियन क्यालेण्डर अनुसारको तारिख मिति भन्नु पर्दछ । 
२. ई. १५८२ देखि १७५१ सम्मको इस्वीसंवत्को क्यालेण्डर ग्रेगोरियन अनुसारको तारिख मिति भन्नु पर्दछ । 


३. ई १७५२ देखि हालसम्म इस्वीसंवत्को क्यालेण्डर जुलियन पनि होइन ग्रेगोरियन पनि होइन भन्ने कुरा हेक्का राख्नै पर्दछ । तर अहिलेको क्यालेण्डर ग्रेगोरियन अनुसार गणना गर्दा २४ दिन फरक पर्न आयो भन्दै चिच्याउनु भनेको त्यही पुच्छर र सिंग पनि छ भन्ने जस्तैको कुरा हो । 
माथि ई १३९० जुलाइ र नेसं ५११ आषाढ बीचको वर्ष अन्तर ८७९  छ भने ई १७६८ सेप्टेम्वर र नेसं ८८८ भाद्र बीचको अन्तर ८८० प्रत्यक्ष देख्न सकिन्छ । यी दुइटै मिति वैशाख उप्रान्तका मिति हुन् । तैपनि एउटा मा ८७९ फरक पर्ने अर्कोमा ८८० फरक देखिनुको कारण के रहेछ ? यसको कुनै ख्याल पनि गर्दैन र ग्रेगोरियन क्यालेण्डर अनुसार अहिले २४ दिन फरक पर्यो भन्दै चिच्याइरहेर हुंदैन ।  


हामीले पढ्ने गरेको खगोल शास्त्रले सूर्य जहाँ छ त्यहीं स्थीर भइरहन्छ भनी सिकाएको छ । पृथ्वीले मात्र सूर्यलाई घुमीरहेको हुन्छ त्यस्तै चन्द्रमाले पनि पृथ्वीलाई त्यसरी नै घुमीरहेको हुन्छ भनी बताइएको हुन्छ । पृथ्वी आफै एक फन्को घुम्दा एकदिन हुन्छ भने पृथ्वीले सूर्यलाई एक बृत्त परिक्रमा गर्दा एक वर्ष लाग्छ । एक बृत्त भनेको ३६० डिग्री र त्यही ३६० डिग्री भित्र एक वर्ष भनेको ३६५.२५ दिन हुन्छ । दशमलवको पछि .२५ भनेको चार वर्षमा १ दिन हुने हुंदा हरेक चार वर्षमा ३६६ दिनको एक वर्ष मानिन्छ जसलाई लिपइयर भनिन्छ अरु बेला ३६५ दिनको एक वर्ष हुन्छ जसलाई साधारण वर्ष भनिन्छ । यो सिद्धान्त कहिल्यै परिवर्तन भएको छैन । तव २४ दिन यता उता सर्ने हिसाव कहाँ छ । मनगढन्ते कुरा गरेर हुंदैन । 

६ महिना सूर्य उत्तरायण र ६ महिना सूर्य दक्षिणायन  हुने सिद्धान्तमा पनि कुनै परिवर्तन भएको छैन । ६ महिना सूर्य उत्तरायण भनेको जनवरी महिना देखि जून महिना सम्म  र ६ महिना सूर्य दक्षिणायन भनेको जुलाई देखि डिसेम्वर सम्म हुन्छ । यो भनेको जनवरी १५ देखि उत्तरायण भइ जून को १५ सम्म रहँदा ६ महिना हुन्छ र बाँकी ६ महिना सूर्य दक्षिणायन हुने हो ।


यसमा वर्षको सवभन्दा लामो दिन जून २१ तारिखलाई मान्ने गर्छ भने डिसेम्वर २१ लाई सवभन्दा लामो रात मान्ने गर्छ । यो पश्चिमाहरुको मान्यता हो भने नेपालमा जेष्ठ पूर्णिमा लाई सवभन्दा लामो दिन र मंसिर पूर्णिमालाई सवभन्दा लामो रात मान्ने चलन छ । त्यस्तै गरि श्रावण संक्रान्ति देखि सूर्य दक्षिणायन र माघे संक्रान्ति देखि सूर्य उत्तरायण मान्ने चलन छ । यसमा कुनै परिवर्तन भएकै छैन । 

मान्छेले खुट्टाले टेकेर हेर्न छोडी टाउकोले टेकेर हेर्यो भने सवै संसार उल्टो नै देख्छ भने झैं आफु सुल्टो बसेर हेर्नु जरुरी हुन्छ । त्यसैले रंग न ढंगको विक्रमसंवत् अगाडि राखेर २४ दिन फरक देखियो भन्नु केवल दृष्टि भ्रम मात्र हो । त्यस्तै प्रचलन हराइसकेको ग्रेगोरियन क्यालेण्डर बाट गणना गरेर २४ दिन पर सरि सक्यो भन्नु पनि दृष्टि भ्रम सिवाय अरु होइन भन्न सकिन्छ । 


 जुन पर्व जुन समय भनेको के हो ?
अहिले गते अनुसार २०८० सालको माघ कृष्ण पक्ष चली रहेको छ । यसलाई नेपालसंवत् अनुसार ११४४ को पोहेलागा भन्छ । यो पोहेलागा पछि सिल्लाथ्व आउंछ । यही सिल्लाथ्वको पंचमीलाई बसन्त पंचमी ,श्रीपंचमी र सरस्वतीपूजा रतिकामपूजा पनि भन्छ । यो गते अनुसार फागुन २ गते पर्दछ । अघिल्लो दिन फागुन १ गते २०ः१२ वजे सम्म चतुर्थी त्यहाँ उप्रान्त पंचमी लाग्ने हुनाले २०ः१३ देखि नै श्रीपंचमी मानेर सरस्वती पुजा गर्नु पर्ने हो त? भन्ने प्रश्न आउंछ । जुन पर्व जुन समयमा गर्नुपर्ने हो सोही समयमा गर्नु पर्छ भन्ने मान्यता बमोजिम यही हुनु पर्ने त होला नि । तर यो मान्यता कसैले अंगीकार गरिरहेको छैन ।


यद्यपि फागुन २ गते बिहान सवेरै सूर्योदय हुनु अगावै अँध्यारैमा सरस्वती मन्दिर तथा मञ्जुश्रीको मन्दिरहरुमा पूजा दर्शन गर्न भक्तजनहरु लाम लागेर दर्शन गर्न जान्छन् । तर बसन्त श्रवणको साइत निकाल्दा फागुन २ गते माघ शुक्ल पंचमी सूर्योदय उप्रान्त कै निकाल्ने गर्दछ । अघिल्लो दिन फागुन १ गतेको २०ः१३ देखि पंचमी लागेको हिसाव लिएर गरिंदैन । यो त जुन पर्व जुन समयको सिद्धान्तको अनुकूल होइन । 

श्रीपंचमीको दिनमा गरिनु पर्ने पितृश्राद्ध  कर्म पनि फागुन २ गते बिहान को सूर्योदय ६ः४५ दिइएकोले यही ६ः४५ उप्रान्त पंचमी श्राद्ध गराइन्छ । वास्तवमा जुन पर्व जुन समय भने कै यही हो । यदि अघिल्लो दिनको २०ः१३ देखिको हिसाव लिइनुलाई जुन पर्व जुन समय भन्नमिल्दैन । किनभने त्यो दिनको सूर्योदयको तिथि चतुर्थी मात्र कहलिन्छ ।
यदि अघिल्लो दिन २०ः१२ सम्म चतुर्थी नभनी १२ः० सम्म मात्र भनियो भनेपनि १२ः०१ देखि नै सरस्वती पूजा पनि गरिंदैन बसन्त श्रवणको साइत पनि निकालिंदैन र पंचमी श्राद्ध पनि गराईंदैन ।  किन त भन्दा सूर्योदय हुंदा चतुर्थी मात्र हुने भएकोले हो । त्यसकारण जुन पर्व जुन समय भनेको नै एक सूर्योदय देखि अर्को सूर्योदय सम्म रहने समयलाई नै तिथि भनिएको हो भनी बुझ्न सकिन्छ । तव हामीले अवलम्वन गर्दै आएको पनि यही नै हो । 


यी विषय सन्दर्भ उठ्नुको मूल कारण
पर्व सुधार आवश्यक भयो भन्दै चिच्याइ आएकाहरुको आफनो चिच्याहटमा उठाइएको अड्कल यस प्रकार छ

१. विक्रमसंवत् शुरु हुंदाको वखत पृथ्वीको उत्तरी ध्रुवमा राती उभिने मानिसको टाउकोको माथि अहिलेको ध्रुवतारा नभएर हाल केही पूर्वमा देखिने तारा ध्रुवताराको रुपमा देखिन्थ्यो ।
२.अवको २ हजार वर्ष पछि ध्रुवताराको रुपमा अर्को नयाँ तारा देखिने हुन्छ ।
३. यसरी पृथ्वीको अक्ष पश्चिम तर्फ (घडीको सुइको दिशामा) विस्तारै सर्ने हुन्छ ।
४. वैज्ञानिकहरुले गरेको मापन अनुसार पृथ्वीको अक्षको फर्काइ विस्तारै सरेर फेरि हालको ध्रुवतारा भएको ठाउमा आइपुग्न २६००० वर्ष लाग्छ ।
५. यदि यही प्रचलन यथावत् रहेमा मतलव पर्व सुधार गरिएन भने १३००० वर्ष पछि पुस माघ गर्मी महिना हुने र जेठ असार जाडो महिना हुने हुन्छ । 

यी अडकल वाजीको कुनै प्रमाण पनि छैन र कुनै उपपत्ति पनि छैन । वैज्ञानिकहरुको मापन अनुसार भन्दिए पुग्ने । यही कुरालाई विस्वस्त दिलाउन कोही लठ्ठी गाडेर घामको छाया नाप्ने उपाय सिकाउने त कोही सूर्य उदाएको र सूर्य अस्ताएको फोटो खिचेर पत्ता लगाउने उपाय सिकाउने गर्दै आए । वास्तवमा ऐना हुंदा हुंदै कुवा खोज्ने तिर मान्छेलाई हिंडाउने भने जस्तैको  कुरा मात्र हो यो । 

निष्कर्ष 
 नेपालमा यदि पर्वसुधार आवश्यक छ भने सर्वप्रथम आफनो साधन बनाइएको विक्रमसंवत् लाई नै सुधार गरी आज भन्दा २०७९ वर्ष अघि देखिको जुनसुकै मिति होस् गणना गर्दा ट्वाक्कै मिल्न आउने बनाइनु जरुरी छ । अहिलेको विक्रमसंवत् अनुसार केहीवर्ष अघिको मितिको गणना गरियो भने पनि मिलाउन सकिरहेका छैन भने २०७९ वर्ष अघि देखिको भन्ने धेरै टाढाको कुरा हो ।
 त्यस्तै गरि डिसेम्वर २१ देखि सूर्य उत्तरायण हुंदै जान्छ भनेर ग्रेगोरियन क्यालेण्डर अनुसार विकिपेडियामा दिइएको छ भन्दैमा त्यही आधिकारिक ठहरिने होइन । फेरि ग्रेगोरियन क्यालेण्डरको प्रचलन कहिले देखि कहिले सम्म आधिकारिक हो त्यसको सामान्य हेक्कासम्म पनि नरहेकाहरुले विकिपेडियाको हवाला दिन खोज्नु कुनै तर्कसंगत मान्न सकिन्न । त्यो त मन लड्डु धिउसित खानु बरावर भने जस्तै हो । 

जुन पर्व जुन समय भन्ने कुरा जसले उठान गर्दै आए स्वयं उ आफै पनि अन्यौल रहँदै आएको देखिन्छ । नेवार समुदायले बरु जुन पर्व जुन समय भन्ने सिद्धान्तलाई आत्मसात गरी पालना गरेको पाइन्छ । हरेक चाडपर्व जन्मोत्सव श्राद्ध कर्म देखि लिएर यावत् कर्मकाण्डका कुरा सर्वप्रथम सूर्योदय समयले जुनतिथि लिएर उदय भयो त्यो तिथि दिन भरिलाई  मान्नका लागि  कुनै दोष नलागोस् कुनै बिघ्नबाधा नआओस् भनी नजिकैको गणेश स्थानमा गइ पूजा गरिसके पछि अरु बाँकी काम बिस्तारै नहडबडाइकन गर्ने चलन छ । कथंकदाचित दिउंसै तिथि परिवर्तन हुने भएपनि परिवर्तन भएको तिथि समात्ने अधिकार हुंदैन किनभने सूर्योदय हुंदाको तिथि मुताविक गणेश लगायत अन्य देवीदेवताको पूजा गरीसकेका हुन्छन् । रह्यो कुरा जुन पर्व जुन समय भनेको तिथि लागेपछि शूरु हुने भन्ने कुरा केवल गंकी पर्वमा मात्र लिने गर्छ भनाइको तात्पर्य पहिले ग्रहण लाग्नासाथ गंकी माग्न आउने एउटा जाति थियो । उनीहरुले ग्रहण लाग्ने दिन भन्दैमा बिहान देखि गंकी माग्न आउंदैन । ग्रहण लाग्ना साथ मात्र आउने गर्दछ । त्यसैले कुनै पनि चाडपर्वमा त्यो कुरा लागु हुंदैन भनाइको तात्पर्य कुने पनि चाडपर्वलाई गंकीपर्व जस्तो ठान्नु किमार्थ जायज होइन । अस्तु   

बिहीबार २५ माघ २०८० ०४:०४ PM मा प्रकाशित

प्रतिक्रिया