×

मुख्यमन्त्री रावलले विश्वासको मत पाउने निश्चित नभएपछि सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित

images

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको जानकारी दिए । प्रदेश सभाले सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाएको छ ।

मुख्यमन्त्री रावलले विश्वासको मत पाउने निश्चित नभएपछि उनकै आग्रहमा बैठक स्थगित भएको हो । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अव उनले भोलि बस्ने बैठकमा विश्वासको मत लिनेछन् । 

एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले भोलि  विश्वासको मत लिनैपर्ने हुन्छ । 

५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिने अडानमा छ । 

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आजसम्म सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताए । सो पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ ।  

प्रदेशसभामा सत्तापक्षीय नेकपा एमालेका दश, माओवादी केन्द्रका सभामुखबाहेक दश, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य हुनुहुन्छ ।  विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य रहेका छन् ।

उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यहरू पार्टीका संस्थापक रेशम चौधरीसँग छलफल गर्न मंगलबार काठमाडौं गएका थिए तर उनीहरू अहिलेसम्म धनगढी फर्किएका छैनन्।

बुधबार २५ माघ २०७९ ०१:०३ PM मा प्रकाशित

प्रतिक्रिया