×

खेत बगाउँछ बाढी, मत बढार्छ आश्वासन

images

सिन्धुली। दुधौली नगरपालिका–११ निवासी ५० वर्षीय धर्म कुँमरले हरेक निर्वाचनमा उम्मेदवारले उठाउने गरेको विकासको मुद्दा ‘कमला नदी नियन्त्रण’ सुन्दै आएका छन्। यो बीचमा धेरै जनप्रतिनिधि फेरिए पनि कमला नदी कटानको समस्या भने फेरिन नसकेको उनको दुखेसो छ। वर्षामा कमलाको बाढीजस्तै चुनावका बेला नेताहरूको आश्वासनको बाढी आउँछ। कमलाले खेत बगाउँछ, आश्वासनको बाढीले जनमत बढार्छ अनि मतदाताको समस्या ज्युँका त्युँ।

आफूसँग भएको १४ बिघा खेत २०५० सालमा कमला नदीमा आएको बाढीले सबै बगाएपछि अहिले आफ्नो हातमा लालपुर्जा मात्रै भएको उनको गुनासो छ। उहाँको खेत कमला नदीले बगाएपछि २०५१ सालको मध्यावधि निर्वाचन, २०५४ को स्थानीय निकाय निर्वाचन, २०५६ सालको संसदीय निर्वाचन, २०६४ र २०७० सालमा संविधान सभा निर्वाचन, २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य एवं स्थानीय तह निर्वाचन र २०७९ सालको स्थानीय तह निर्वाचनबाट धेरै जनप्रतिनिधि फेरिइसकेका छन्।

किसान कुँमरले भने, “आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि अहिले पनि उम्मेदवार मत माग्न आउँदा जितेपछि कमला नदी नियन्त्रण गर्छु भन्दै आएका छन्। पहिले भएका निर्वाचनमा पनि धेरै उम्मेदवारले कमला नदी नियन्त्रण गर्छु भन्ने गरेका थिए तर समस्या अहिलेसम्म ज्युँका त्युँ छ। खाली जनतालाई मात्रै ढाँट्दा रहेछन्।” दुधौली नगरपालिका–१ देखि १२ सम्मका वडा र कमलामाई नगरपालिकाको वडा नं ९, १०, १३ र १४ जिल्लामै अन्न भण्डारका रूपमा परिचित छन्। यस क्षेत्रमा २०४० र २०५० सालमा कमला नदीको बाढीले उर्वरभूमि बगाएपछि कुनै बेला जमिनदार कहलिएका सयौँ किसान सुकुम्बासीमा परिणत भएका छन्। गोरखापत्र दैनिकबाट
 

सोमबार २१ कात्तिक २०७९ ०८:३६ AM मा प्रकाशित

प्रतिक्रिया