×

भारतसम्म पुगे बाढीले बगाएका शव: १३ सय ५५ को मृत्यु पुष्टि, अझै भेटिएनन् ५ हजार नागरिक

images

काठमाडौँ, २२ भदौ । गत भदौ १० गते रसुवाको लाङटाङ लिरुङ हिमालमा गएको हिमपहिरो (ग्लेसियर कोलाप्स) का कारण भोटेकोशी र त्रिशूली नदी कोरिडोरमा आएको आकस्मिक र अभूतपूर्व बाढीले नेपाललाई ठूलो मानवीय सङ्कटमा धकेलेको छ। विपद् व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीको संयुक्त प्रतिवेदन अनुसार, बाढीको लेदो र विशाल चट्टानले नदी तटीय क्षेत्रका दर्जनौँ बस्तीहरू नामोनिसान नहुने गरी बगाउँदा यो भीषण क्षति भएको हो। 

जिल्लागत रूपमा शव फेला परेको विवरण

बाढीको तीव्र बहाव र लेदोका कारण कतिपय शवहरू बगेर घटनास्थल भन्दा २४० किलोमिटरसम्म टाढा छिमेकी राष्ट्र भारतसम्म पुगेका छन्। हालसम्म विभिन्न आठ जिल्लाहरूबाट कुल १,३५५ वटा शवहरू संकलन गरिएको छ: 

चितवन: सबैभन्दा धेरै ३६० शव
पूर्वी नवलपरासी: २२२ शव
पश्चिम नवलपरासी: २१९ शव
नुवाकोट: १९५ शव
रसुवा: १५६ शव
गोरखा: ७४ शव
धादिङ: ६७ शव
तनहुँ: ३८ शव 
प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये ठूलो संख्यामा पहिचान हुन बाँकी छ। हालसम्म १,२६० भन्दा बढी मृतक र ९७२ आफन्तहरूको डिएनए (ड्ण) प्रोफाइल सङ्कलन गरी सनाखत गर्ने कार्यलाई तीव्र पारिएको छ। 

५ हजार नागरिक बेपत्ता, विदेशी पनि परे चपेटामा

प्राधिकरणका प्रवक्ता महतका अनुसार ४ हजार ९ सय ९६ जना अझै पनि सम्पर्कविहीन छन्। बेपत्ता हुनेहरूमा रसुवाका मात्रै १,९६७ जना र नुवाकोटका २,३४० जना स्थानीय नागरिक रहेका छन्। यसका साथै, नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल र भन्सार क्षेत्र ध्वस्त हुँदा त्यहाँ कार्यरत करीब १०० जना सरकारी कर्मचारी तथा सुरक्षाकर्मी र विभिन्न देशका ५८९ जना विदेशी नागरिक (पर्यटक तथा कामदार) समेत बेपत्ताको सूचीमा सूचीकृत छन्। 

उद्धार, उपचार र आश्रयको स्थिति

विपद् लगत्तै परिचालन गरिएका २१,४०२ जना नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले हालसम्म १३,३९६ जनाको जीवितै उद्धार गर्न सफल भएको छ। 

बाढी र पहिरोका कारण घाइते भएका ६,६७२ जनाको विभिन्न अस्थायी मेडिकल क्याम्प र अस्पतालहरूमा उपचार भइसकेको छ। हाल प्रभावित क्षेत्रहरूमा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरहरूमा ३ हजार ५ सयभन्दा बढी विस्थापित नागरिकहरू आश्रय लिइरहेका छन्। 

चीनतर्फ पनि क्षति र अन्तराष्ट्रिय ऐक्यबद्धता

यो महाविपत्तिले चिनियाँ भूमिमा पनि ठूलो असर पारेको छ। तिब्बत स्वायत्त क्षेत्रको केरुङ (जिरोङ) पोर्ट क्षेत्रमा माटोको लेदो र बाढीका कारण ४३ जनाको मृत्यु भएको छ भने ५१९ जना चिनियाँ नागरिक बेपत्ता छन्। संयुक्त राष्ट्रसंघ (उण्) ले नेपालका बाढी पीडितहरूको तत्कालीन उद्धार र खाद्यान्न व्यवस्थापनका लागि ४ करोड ९६ लाख डलर (करीब ६ अर्ब ६१ करोड रुपैयाँ) को आपत्कालीन आर्थिक सहयोगको अपिल जारी गरेको छ। 

मुलुकमा परेको यो अभूतपूर्व संकटको घडीमा आज देशभर राष्ट्रिय शोक मनाउँदै सरकारी कार्यालय तथा विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाएर मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। 

सोमबार २२ भदौ २०८३ ०८:०४ PM मा प्रकाशित

प्रतिक्रिया