×

लिंगो ठड्याएसँगै इन्द्रजात्रा सुरु (फोटो फिचर)

images

इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको छ । आज बिहान हनुमानढोकामा इन्द्रजात्राको लिंगो ठड्याइएको छ । हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ।

आज बुधबार बिहान ७ बजेर १५ मिनेटकाे साइतमा लिंगो ठड्याइएको हो । परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइन्छ । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।

तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । हनुमानढोका दरबारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार लिङ्गो ठड्याएपछि इन्द्रजात्राको चहलपहल शुरू हुन्छ । यसपालि इन्द्रजात्राको मुख्य दिन चाहिँ पर्सि शुक्रबार परेको छ ।

बुधबार २२ भदौ २०७९ ०२:०९ PM मा प्रकाशित

प्रतिक्रिया