काठमाडौँ, २४ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले पार्टी केन्द्रीय सचिवालयले गरेको पछिल्लो कार्यविभाजनप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा एक पोस्ट राख्दै नेता बास्कोटाले एमालेको कार्यविभाजनमा कुनै स्थापित सिद्धान्त वा विज्ञानले काम नगरेको भन्दै कटाक्ष गर्नुभएको हो ।
नेता बास्कोटाले पार्टीको कार्यविभाजनलाई 'सैनिक सङ्गठन' को शैलीसँग तुलना गर्दै नेता-कार्यकर्ताहरूलाई सोच्ने अधिकार नदिई केवल आदेश पालन गर्ने संयन्त्र मात्र बनाउन खोजिएको आरोप लगाउनुभएको छ । आफ्नो आधिकारिक सामाजिक सञ्जाल एकाउन्टमा व्यङ्ग्यात्मक शैलीमा लेख्दै बास्कोटाले भन्नुभएको छ:
"न एष्ट्रोनोमी, न फिजिक्स, न केमेस्ट्री, न वायोलोजी न त जुयोलोजी, अर्थमेटिक, अलजेब्रा, ज्योमेट्री, ईन्जिनियरीङको कुनै हाँगो थाहा छैन । तर एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ— सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो, सैनिक सङ्गठनमा जस्तै ।"
पार्टीभित्र विधि र पद्धतिको वेवास्ता गरिएको सङ्केत गर्दै उहाँले अब एमालेलाई पहिलो पार्टी कसरी बनाउने भन्ने उपाय आधुनिक प्रविधि (आर्टिफिसियल इन्टेलिजेन्स) सँग माग्नुपर्ने स्थिति आएको उल्लेख गर्नुभएको छ । उहाँले थप लेख्नुभएको छ, "म एआईलाई सोध्छु— एमाले पहिलो कसरी बन्छ ?"
पछिल्लो समय एमालेभित्र कार्यविभाजन र जिम्मेवारी बाँडफाँडलाई लिएर आन्तरिक मतभेदहरू बाहिर आउने क्रम बढिरहेका बेला, अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने नेता बास्कोटाकै यो सार्वजनिक टिप्पणीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । कार्यविभाजनमा कतिपय स्थापित नेताहरूलाई पाखा लगाइएको र असन्तुष्ट पक्षमाथि कडा नीति अख्तियार गरिएको भन्दै पार्टीभित्रैबाट आलोचना सुरु भएको छ ।
प्रतिक्रिया