×

रातो मासु खाँदा क्यान्सरको जोखिम : चिकित्सक

images

काठमाडौं । रातो मासुको अत्यधिक सेवनले कोलोन क्यान्सर हुने खतरा बढाउँदछ । अमेरिकी वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार रातो मासु कार्सिजेनिट (क्यान्सर पैदा गर्नसक्ने) खाना हो ।

रातो मासुले मानिसको डिएनएलाई क्षति पुर्‍याएर क्यान्सरको जोखिम बढाउन सक्छ । कोलोन क्यान्सरबाट पीडित नौ सय बिरामीको डिएनए जाँचसहित अन्य अनुसन्धान गरेको दाना–फार्बर क्यान्सर संस्थानका विज्ञ मारियोस गियानकिस बताउँछन् ।

अनुसन्धानको क्रममा बिरामीहरूको डिएनएमा देखिएको परिवर्तन पहिले कहिल्यै नदेखिएको उनको भनाइ छ । यस परिवर्तनले मानिसको डिएनएमा क्षति भएको प्रमाणित गरेको छ । उक्त परिवर्तन शरीरको सबै कोशिकामा नभई कोलोनबाट लिइएको नमूनाहरूमा मात्र देखापरेको थियो । वैज्ञानिकका अनुसार रातो मासुमा पाइने नाइट्रेटले पनि क्यान्सर निम्त्याउँछ ।
यसअघि विभिन्न अनुसन्धानमा धुम्रपान गर्ने बानी भएका, अल्ट्रा भायलेट किरणहरूले मानवको जीनमा नराम्रो प्रभाव पार्छ र नतिजास्वरूप क्यान्सरको जोखिम बढ्ने कुरा प्रमाणित भइसकेको छ । रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी) का अनुसार कोलोन क्यान्सरले महिला र पुरुष दुबैलाई असर गर्छ । यो प्रायः ५० वर्ष वा माथिका व्यक्तिमा बढी देखिने पाइएको छ ।

अमेरिकी क्यान्सर सोसाइटीका अनुसार कोलोरेक्टल क्यान्सरको जोखिमबाट बच्नका लागि उत्तम तरिका भनेको नियमित जाँच गर्नु हो । लक्षण नदेखिँदा पनि स्क्रिनिङ प्रक्रियाअन्तर्गत क्यान्सर भए–नभएको पत्ता लाग्न सक्छ ।

कोलन क्यान्सरलाई कोलोरेक्टल क्यान्सर वा ठूलो आन्द्राको क्यान्सर पनि भनिन्छ । यो क्यान्सर ठूलो आन्द्रा  (कोलोन) वा मलाशय (ग्यास्ट्रो–इन्टेस्टाइनलको अन्तिम भाग) मा देखा पर्छ । कोलोन क्यान्सर भएमा पेटसँग सम्बन्धित धेरै समस्याहरू देखिन सक्छ । (भास्कर डट कम)

शुक्रबार​ २४ चैत २०७९ ११:३७ AM मा प्रकाशित

प्रतिक्रिया