×

माछापुच्छ्रेमा निर्माण हुँदै सुविधायुक्त आवासीय वृद्धाश्रम

images

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ देउपुरमा रु सात करोड ५३ लाख ७५ हजारको लागतमा सुविधायुक्त नाना मोहन आवासीय वृद्धाश्रम निर्माण गरिने भएको छ । आमा स्मृति प्रतिष्ठानद्वारा निर्माण गरी सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको सो वृद्धाश्रमका लागि इमान फाउण्डेशन जर्मनीको रु पाँच करोड र बाँकी दुई करोड ५३ लाख ७५ हजार गाउँपालिका, आमा स्मृति प्रतिष्ठान तथा स्थानीय जनसहभागिता परिचालन गरिने भएको छ ।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सो वृद्धाश्रमको आज शिलान्यास समारोहमा समाजका ज्येष्ठ नागरिकले पाउने नैसर्गिक अधिकारको सुनिश्चितताका लागि राज्य जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको कार्यान्वयन हुन नसक्दा समाजका ज्येष्ठ नागरिक, महिला, बालबालिका, असहाय एवं विपन्न वर्गलगायत प्राप्त उपलब्धिबाट वञ्चित रहेको उल्लेख गर्दै उहाँले मुलुकका मार्गदर्शक आमा बुबालाई सकेसम्म घरमै र विकल्पको रूपमा मात्र वृद्धाश्रममा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकको विकासका लागि एउटा पार्टीले कम्तीमा पनि २० देखि ३० वर्षसम्म राज्य सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उपमहासचिव गुरुङले नेकपा एमालेको पहिलो सरकारले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको स्मरण गर्नुभयो । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य जगत विश्वकर्माले निजी क्षेत्रको पहलमा आवासीय वृद्धाश्रम निर्माण गरेर राज्यको दायित्व पूरा गर्न सफल भएको बताउँदै यसको निर्माणसँगै सञ्चालमा सबै क्षेत्रको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

माछापुच्छ्रे गाउँपालिकाकालाई समेटेर निर्माण गरिने चक्रपथको डिपीआर गरेर टेण्डर प्रक्रियामा अघि बढेको बताउँदै उहाँले भेडावारीमा खेलकुदको राष्ट्रिय गौरवको आयोजना एन्फा टेक्निकल सेन्टरको टेण्डर आह्वान भई सकेको जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पालिका विकास निर्माणसँगै सामाजिक सेवामा समर्पित हुँदै आएको उल्लेख गर्नुभयो । वृद्धाश्रम सञ्चालनमा आएसँगै यस क्षेत्रका मात्र नभई मुलुककै वृद्धावृद्धले सुविधा पाउने विश्वास व्यक्त गर्नुभयो ।

वृद्धाश्रम निर्माणका लागि गाउँपालिकाका अध्यक्ष गुरुङसहित उहाँका दाजुहरु दुर्गबहादुर गुरुङ, वरबहादुर गुरुङ, खेमप्रसाद गुरुङ र सुकमाया गुरुङको परिवारले रु दुई करोड मूल्य बराबरको चार रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । 

वृद्धाश्रममा वृद्धालाई सःशुल्क आवासीय व्यवस्था गरिने आमा स्मृति प्रतिष्ठान माछापुच्छ्रेका अध्यक्ष हरिशचन्द्र लम्सालले जानकारी दिनुभयो । सो अवसरमा आयोजित छौटौँ वार्षिक साधारणसभामा उपाध्यक्ष वसन्द दवाडी र सचिव गुणाखर दवाडीले साङ्गाठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सोमबार २३ फागुन २०७८ ११:२२ AM मा प्रकाशित

प्रतिक्रिया