काठमाडौं । आजभन्दा ८ वर्ष पहिले नेपालगञ्ज बाँकेमा एउटा निर्मम घटना घट्यो । जसले सिंगो देशलाई त्रसित बनाइ दियो भने राष्ट्रियस्तरमै उक्त घटना चर्चित बन्यो ।
यो घटनाले सुरक्षा क्षेत्रलाई नै चुनौती दिएको भन्दै सुरक्षा वृत्तमा चर्चा चल्यो । सो घट्ना घटेको थियो– ‘२०७२ असार २८ मा ।’
घटना घट्नु पहिले बाँके नेपालगञ्ज उपमहानगरपालिका–८ का चेतन मानन्धरलाई गुण्डा नाइके योगराज ढकाल (रिगल)ले काम छ भन्दै बोलाए । उनलाई बोलाउनुभन्दा पहिले नै यी दुई जनाको समूहबीच मेलमिलाप हुनै नसक्ने गरी विवाद गहिरिएको थियो ।
रिगलले बोलाएको स्थान थियो– ‘धम्बोझी दक्षिण–सुर्खेत रोड नजिकै स्वस्तिक कटेज परिसर ।’ रिगलले भेट गर्ने भन्दै मानन्धरलाई सोही परिसरमा बोलाएपछि उनी त्यहाँ पुगे । मानन्धर त्यहाँ पुग्दा दिउँसोको ३ बजेको थियो ।
रिगल र मानन्धनरबीच भेट हुने बित्तिकै आपसमा विवाद चर्कियो । विवाद चर्किएपछि रिगलको समूह आक्रमक भएर उत्रियो । यहीँ मौकामा मानन्धरलाई रिगलले नै लखेटी–लखेटी खुँडा प्रहार गरेर शक्त घाइते बताए ।
त्यसपछि उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा निधन भयो । मानन्धरको निधन भएको घटना थाहा पाएपछि रिगल भागेर भारत पुगे । उनी त्यहाँ चार वर्ष लुकेर बसे ।
यता रिगलको नाउमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता भएपछि नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान गर्दै खोजी अभियान जारी राखेको थियो ।
त्यस सयममा गुण्डाहरूलाई प्रहरीले ठाउँठाउँमा इन्काउन्टर गरेको थियो । त्यहीँ मौकामा रिगलले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । उनले आत्मसमर्पण गरे लगतै तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनायो ।
त्यसपछि रिगलाई सर्वस्वसहित जन्मकैदका लागि जेल चलान गरियो । तर, यहीँ असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद मिनाहा गरिदिए ।
४० प्रतिशतभन्दा कम कैद सजाय पनि नभोगेकालाई आममाफी दिएको भन्दै राष्ट्रपतिको चौतर्फी आलोचना भएको छ । मन्त्रिपरिषद्को निर्णयलाई आँखा चिम्लेर कार्यान्वयन गरिदिने भन्दै उनको विरोध पनि भएको छ ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको आडमा रिगलको दबदबा थियो । ठेक्कापट्टा, अबैध असुली धन्दामा रिगल संलग्न थिए । कोइरालाको संरक्षणमा उनले ठूलठूला ठेक्कापट्टा आफ्नै पोल्टामा पार्थे । नियमविपरीत उनले काम पाउने गरेसँगै उनको चहानाविपरीत कसैले ठेक्कापट्टा पाउने स्थिति पनि थिएन ।
कोइरालाको आडमा मोलाएको अराजकताको संरक्षक उनै थिए । रिगललाई कोइरालाको बडिगार्डको रूपमा समेत मानिसहरू चिन्थे भने सत्ता र शक्तिको आडमा उनले नेपालगञ्ज बाँकेमा जे गरे पनि सह्य हुन्थ्यो ।
उनको अगाडि पुलिस, प्रशासन नै धर्कमान हुन्थ्यो । मानन्धरको हत्याको समयमा रिगल बाँके निर्वाचन क्षेत्र नम्बर–३ का तरुण दलका सभापति समेत थिए ।
आममाफी पाएपछि जेलबाट छुटेका रिगललाई कांग्रेस र तरुण दलका नेताहरूले फूलमालाले भव्य स्वागत गर्नुका साथै गाडीका लावालस्कर लिएर जेलमै पुगेका थिए ।
रिगलले आममाफी पाएपछि मानन्धरकी श्रीमाती अनशनरत छिन् । हत्यारालाई उन्मुक्ति दिएको विरोधमा भारती मानन्धरले सर्वोच अदालतमा रिटसमेत दाहेर गरिसकेकी छिन् । उनी आममाफीविरुद्ध अनशनरत छिन् ।
भारती मानन्धरले यसअघि पत्रकार सम्मेलनको आयोजना गरि एकपटक मारिसकेको व्यक्तिलाई पुनः मारेको भन्दै पीडा पोखेकी छिन् । उनले उक्त सम्मेलनमा घट्ना घटेको ८
वर्ष भइसक्दा पनि अझैं उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको बताइन् ।
भारतीले भनिन्– ‘घटना भएको आज आठ वर्ष भयो । तर, आजसम्म म त्यसको पीडाबाट बाहिर निस्कन सकिरहेको छैन । डिप्रेसनको औषधि अझै पनि चलिरहेको छ । मनदेखि नै म उहाँलाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी बिर्सन सक्छु ?’
उनले आफूले लामो कानुनी लडाइँबाट रिगललाई कारगार पुर्याएको बताउँदै पीडित परिवारको सहमतिबिना राष्ट्रपतिलाई आममाफी दिने अधिकार हुन नहुने बताइन् । उनले भनिन्– ‘राष्ट्रपतिलाई आममाफी भनेको के हो ? तपाईँलाई त्यो अधिकार कसले दियो ?’ भन्दै प्रश्नसमेत गरिन् ।
‘राष्ट्रपतिलाई म सोध्न चाहन्छु– आममाफी भनेको के हो ? जसरी त्यत्रो महिना संघर्ष गरेर हामीले उसलाई कारागार पुर्याएको हो, त्यसैगरी आममाफी दिने वा नदिने हामीलाई अधिकार हुनुपर्ने हो । आममाफीको जवाफ मलाई चाहियो,’ –उनले भनिन् ।
रिगलको आममाफीविरुद्ध कांग्रेस संस्थापनइतर समूह अर्थात् पार्टी महामन्त्री गगनकुमार थापाले असन्तुष्टि व्यक्त गरेका छन् । त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आममाफीविरुद्ध सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् । प्रमुख प्रतिपक्षी दल एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार संसदमा रिगलको आममाफीविरुद्ध चर्को आलोचना गरेका छन् ।
संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालतले गरेको सजायलाई कानुनबमोजिम माफी गर्न सक्नेछ भन्ने तजबिजी अधिकारको व्यवस्था छ । तर, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ मा ‘क्रूर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको मुद्दाबाट भएको सजाय माफी गर्न सकिने छैन’ भन्ने प्रष्ट उल्लेख छ ।
यहीँ दफामा टेकेर न्यायलयले गुण्डा नाइके रिगललाई पुनः सर्वस्वसहित जन्मकैद लागि जेल चलान गर्न सक्छ ।
रिगलको आममाफीविरुद्ध सत्तापक्षका सांसद नै लचिलो बनेका छन् । कांग्रेस महामन्त्रीद्वयले नै यसको विरोध गरेका छन् । त्यस्तै माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो निर्णयलाई तत्तकाल फिर्ता लिनसके राम्रो हुने सुझाव दिएका छन् ।
प्रतिक्रिया