×

स्वयम्भू वन सम्बन्धमा वन डिभिजन, वडाकार्यालय र स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको बैठक सम्पन्न 

images

काठमाडौं । स्वयम्भू धार्मिक वन सम्बन्धमा वन डिभिजन, वडाकार्यालय र स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको बैठक सम्पन्न भएको छ । बैठक हिजो (बुधबार) सम्पन्न भएको उक्त महासमितिले बताएको छ । 

काठमाडौं जिल्ला वन डिभिजन, कामपा–१५ नम्बर वडाकार्यालय र स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिबीच  प्रतिबद्धतासहितको बैठक सम्पन्न भएको हो ।

बैठकमा स्वयम्भू धार्मिक वनको विगतमा भएका क्रियाकलापबारे मूल्यांकन र छलफल भएको थियो । छलफलमा वन बिभागका सह–सचिब सरस्वती अर्यालले वन कार्यालयले यस वर्ष स्वयम्भूको वन वातावरण, सरसफाई र वृक्षारोपण सुधारका लागि गरेको कामबारे कार्यपत्र प्रस्तुति गरेकी थिइन् । 

उनले विज्ञहरूको सहयोगमा स्थानीय संघ–सस्था, समाजसेवी, वडाकार्यालय, महासमिति, सरोकारवाला निकायसँगको छलफलमा सरसफाई कार्यमा संलग्न कर्मचारीहरूको तालिमको व्यवस्था गरेको बताइन् ।
 

भविष्यमा हुने वायु प्रदुषण, वन सरसफाई, कम्पोष्ट व्यवस्था, ध्वनि प्रदुषण सम्बन्धमा वडाकार्यालय, समितिसँग सहकार्य वनको सौदन्र्यमा कुरुपमा निम्त्याउने सुकेका, सडेका रुखलाई हटाउनुपर्ने बैठकमा छलफल भएको छ ।  

यसअघि वन क्षेत्रको पश्चिमपट्टी उम्रिएका सल्लीलाई हटाएर जापानी वैज्ञानिक मियावाकी पद्धतिबाट  ५०० स्थानीय विरुवा रोपेपछि वनको सौन्दर्य थप बढेको छ । बादरबाट बच्न पनि यो पद्धति निकै उपयोगी भएको छ ।
 

वन डिभिजन कार्यालयका डिएफओ वद्रीकुमार कार्कीले यस कार्यालयले विगतदेखि नै स्वयम्भू वनलाई धार्मिक वनमा परिणत गर्दै महासमिति र स्थानीय सरकारसँग मिलेर काम गर्न पाउँदा खुशी भएको बताए । 

उनले गत आर्थिक वर्षमा १०० वटा मौलिक वृक्षबाट त्यसको बचावट बिधि समेत प्रयोगमा ल्याई स्वयम्भुमा सफलताका साथ काम गरेको बताए । काठमाडौं महानगरपालिका–१५ का  वडाध्यक्ष ईश्वरमान डंगोलले स्वयम्भू वडाकार्यालयले यस विश्व सम्पदालाई व्यवस्थित र राम्रो गर्न गुरु योजना बनिसकेको र समग्र रुपमा कार्ययोजना बनाइ अगाडी बढ्दै गईरहेकोले स्वयम्भुको सम्पदा र वन एक अर्कामा पूरक रहेको बताए ।
 

बैठकमा स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका महासचिव अशोक बुद्धाचार्यले स्वयम्भू विश्व सम्पदाको धरोहर र वन वातावरणको व्यवस्थापन संरक्षणका लागि स्थानीय निकायका रुपमा वडाकार्यालय र जिल्ला वन डिभिजनसँग मिलेर अगाडि सहकार्य गर्दै जाने बताए ।

स्वयम्भू धार्मिक वनमा बादरलाईसमेत उपयोगी हुने र मौलिक वनस्पतिको समेत सरक्षण गर्न जरुरी रहेकोले महासमितिले यसका लागि कार्यनीति बनाइ पुस्तकमा समेत उल्लेख गरि वितरण गरेको छ । सोही अनुरुप महासमितिसँग मिलेर वृक्षा रोपन कार्य अगाडि बढाउन सहयोगका लागि प्राडा केशव श्रेष्ठले आग्रह गरेका छन् । 
 

यस वर्ष मियावाकी विधि र हालै सिद्धार्थ बैंकबाट वृक्षारोपण भएको विधिको तुलना गर्दै रोपेको विरुवा बचाउन वन कार्यालयबाट सफलताका साथ  अपनाएको जापानी विधिलाई पुनः प्रयोगमा ल्याएमा चाँडै बिरुवा हुर्कने र बादरलाई समेत आहार हुने बताए । 
 

स्वयम्भू वनमा पाइएको वृक्षका फलहरू जम्मा गरि वनमा रोपेर प्राकृतिक रूपमा हुर्काउन प्रयत्न गरेको र सोही थरिका प्रजाति प्राकृतिक विज्ञान संग्रहालय परिसरमा पनि रोपेर परीक्षण गरिएको छ । 
 

फलेदो, तेन्दु, जामुन, बर्रो स्याल्फुसरे, नेरवारका विरुवा हुर्कन सकेको उदाहरण समेत बैठकमा प्रष्ट पारिएको थियो । वन संरक्षणमा बाह्य प्रजातिका झाडीहरू बढ्दै गएकोकोले यसको व्यवस्थापन गर्नुपर्ने र वन, सम्पदा क्षेत्र र सार्वजनिक क्षेत्रको अवधारणा राखि ३१ हेक्टरमा फैलियको वनलाई हराभरा बनाउन महासमितिले आग्रह गरेको छ । 
 

महासमितिको बैठक कक्षमा भएको सो मूल्याकंन बैठकमा वन डिभिजन कार्यालयका सह–सचिव र डिएफओबाट महासमितिका महासचिव अशोक बुद्धाचार्यलाई बिभिन्न सरसफाई सम्बन्धी समानको सूची हस्तान्तरण गरिएको छ ।  

शुक्रबार​ १९ असोज २०८० ०६:४४ PM मा प्रकाशित

प्रतिक्रिया