चीनको दक्षिणपश्चिम क्षेत्रमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
स्थानीय समय अनुसार दिउँसो एक बजे सिचुआन प्रान्तमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो। जसका कारण त्यहाँको सञ्चारविच्छेद भएको र लगत्तै पहाडमा गएको पहिरोका कारण "गम्भीर क्षति" भएका विवरणहरू सार्वजनिक भएका छन्। गत साता सिचुआनको राजधानी चेङ्दुका करिब २१ लाख मानिसहरूलाई कोभिड नियमका कारण घरमै बस्न निर्देशन दिइएको थियो।
भूकम्पको केन्द्रबिन्दु चेङ्दुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा अवस्थित दुर्गम पहाडी क्षेत्र लुडिङ सहर रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ ।
सरकारी टेलिभिजन संस्था सीसीटीभीका अनुसार यान सहरमा १७ जनाको मृत्यु भएको र अर्को छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ। "भूकम्पमा परी अन्य १६ जना बेपत्ता र ५० जना घाइते भएका छन्," सीसीटीभीले सोमवार अबेरको प्रसारणमा जानकारी दिएको थियो।
भूकम्पका कारण चेङ्दु र छिमेकी मेगा-सिटी चोङ्किङमा भवनहरूमा असर पुर्यायो,सडक अवरुद्ध भयो र दश हजारभन्दा बढी मानिसहरूको निवासमा घरमा सञ्चार प्रभावित भयो। त्यस्तै गार्जे र यान क्षेत्रका केही विद्युत् केन्द्रहरू पनि बन्द गरिएको सीसीटीभीले जनाएको छ।
सरकारी सञ्चारमाध्यमहरूका अनुसार केन्द्रबिन्दु क्षेत्रमा पाँच सयभन्दा बढी उद्धारकर्मीहरू पठाइएको छ। त्यस्तै कामदारहरू भने पहिरोका कारण निम्तिएका अवरोधहरू हटाउन सक्रिय छन्।
चेङ्दुबासीहरूका अनुसार त्यहाँका स्थानीयबासीले आफ्नो फोनमा भूकम्पपूर्व चेतावनी आएपछि आत्तिँदै अग्ला आवासीय भवनहरूबाट बाहिर निस्किएका थिए। "त्यहाँ मानिसहरूको भिड थियो। उनीहरू डराएर रुन थाले," लौरा लुओ, एक अन्तर्राष्ट्रिय पीआर सल्लाहकारले रोएटर्सलाई बताइन्। भूकम्प सुरु हुँदा "सबै कुकुरहरू भुक्न थाले र त्यो अवस्था साँच्चै धेरै डरलाग्दो थियो।"
"भुईँ तल्लामा रहेका मेरा छिमेकीहरूले त्यसको प्रभाव अझै धेरै महसुस गरेको बताए," चेङ्दुका चेनले एएफपीसँग भने। "तर हाल चेङ्दुमा महामारी व्यवस्थापनको नियम लागु रहेकोले त्यहाँका मानिसहरूलाई आफ्नो आवासीय परिसर छोड्न अनुमति छैन।
त्यसैले उनीहरूमध्ये धेरै त आफ्नो आँगनमा निस्किएका थिए।" शुक्रवार मात्र कोभिड-१९ सङ्क्रमण दर रोक्ने प्रयास स्वरूप लकडाउन गर्ने चेङ्दु पछिल्लो चिनियाँ सहर हो।
प्रतिक्रिया