×

प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्षबीच भेटवार्ता

images

प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले भेटवार्ता गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा अस्ति आइतवार नेपाल आउनुभएका भारतीय सेनाध्यक्ष पाण्डेले आज मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको नेपाली सेनाले जनाएको छ ।

भेटवार्तामा द्विपक्षीय हित, नेपाली सेना र भारतीय सेनाबीच भइरहेको सहकार्य, भावी योजनालगायतका विषयमा कुराकानी भएको छ । नेपाल र  भारतका सेनाबीचको सम्बन्ध सुमधुर रहेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले थप सहकार्यमा जोड दिनुभएको छ ।

यसैबीच भारतीय सेनाध्यक्ष पाण्डेले आजै बिहान माउन्टेन फ्लाइट गर्नुभएको थियो । यस्तै शिवपुरीको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण तथा तालिम गरिरहेका सैनिक कमान्ड तथा स्टाफ तालिमका प्रशिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गर्नुभएको थियो ।

पाण्डे भोलि बुधवार मुक्तिनाथ जाने र पोखराको नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्ने तालिका रहेको छ । पाण्डेलाई हिजो साेमवार राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ सेनापतिको दर्ज्यानी चिह्न प्रदान गरिसक्नुभएको छ । photo : RSS

मङ्गलबार २१ भदौ २०७९ ०५:१७ PM मा प्रकाशित

प्रतिक्रिया