×

गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो बन्दै गयाे : अध्यक्ष नेपाल

images

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धनभित्र प्रदेश सभा र प्रतिनिधि सभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताउनुभएको छ । अध्यक्ष नेपालले आउँदाे मङ्सीर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा तालमेल गरेर जाने सत्तारूढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पार्नुभयो । 

पार्टी निकट नेपाल दलित मुक्ति सङ्गठनको काठमाण्डाैमा आज मङ्गलवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘तालमेल गर्दै अघि बढ्दै जाने क्रममा नै हामी सिटको बाँडफाँट गर्न चाहिरहेका छौँ । त्यो कति सम्भव छ, कति सम्भव छैन भन्नेबारेमा पनि प्रश्न उठेको छ । हामी सम्भव तुल्याउन चाहिरहेका छौँ ।’

अध्यक्ष नेपालले आउँदाे चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरूलाई जिताउने गरी सङ्गठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । त्यसका लागि पार्टीको हैसियत र सामर्थ्य वृद्धिका लागि सिङ्गो पार्टी पङ्क्ति परिचालन हुनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्ती–बस्तीमा पुगेर सङ्गठन निर्माण र परिचालनको काममा खटिन पनि सचेत गराउनुभयो ।

कार्यक्रममा बाेल्दै उहाँले दलित समुदायमाथि अपहेलना गर्नेहरूलाई पार्टीको सदस्यता नदिने चेतावनीसमेत दिनुभयो । 

मङ्गलबार २१ भदौ २०७९ ०२:०४ PM मा प्रकाशित

प्रतिक्रिया