×

प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता- बागमतीका ओमकारलाई दुई स्वर्ण

images

बागमती प्रदेशका ओमकार सिंहले प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा पुरुष व्यक्तिगततर्फ दुई स्वर्ण हात पारेका छन् । 

उनले सावर र इपीतर्फ स्वर्ण हात पारेका हुन् । सावरमा सिंहले बागमतीकै पायष योञ्जनलाई खेलमा १५–१४ अङ्कले पराजित गर्दै स्वर्ण हात पारेका हुन् । १३–१४ ले पछाडि परेको अवस्थामा खेलमा सुधार गर्दै सिंहले १५–१४ को अग्रता लिएका थिए । तेस्रो स्थानमा एपिएफका राजेन्द्र गजुरेल र खिम खत्री रहे । 

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल फेन्सिङ सङ्घको संयुक्त आयोजनमा भएको प्रतियोगिताको इपीतर्फ पनि ओमकारले स्वर्ण हात पारे । उनले नेपाली सेनाका जङ्ग गिरीलाई १०–९ अङ्कले पराजित गरेका हुन् ।

निर्धारित समयसम्म दुवैको समान ९–९ अङ्क भएपछि निर्णयका लागि थप गरिएको एक मिनेटमा सिंहले अङ्क जोड्दै १०–९ अङ्कका साथ विजय भएका हुन् । सेनाका मीन कार्की र बागमतीका भीष्मराज (तार्जन) दाहालले कास्य पाए ।

यस्तै पुरुषकै फ्वाइलतर्फ सेनाका जलेन्द्र शाहीले बाजी मारे । उनले आफ्नै विभागका खेलाडी राजन खड्कालाई १५–६ अङ्कले पराजित गर्दै स्वर्ण जितेका हुन् । एपिएफका शेर ऐर र सेनाका नरेन्द्र धामी तेस्रो हुँदै कास्यमा सीमित भए ।

प्रतियोगितामा चार क्षेत्र प्रदेश नं १, बागमती, सुदूरपश्चिम, गण्डकीका साथै दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गरी छ टोलीका ११४ खेलाडीहरुले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । 

प्रतियोगितामा सावर, इपी, फ्वाइल गरी तीन विधामा व्यक्तिगत र टिम स्पर्धामा महिला तथा पुरुषको प्रतिस्पर्धा हुनेछ ।

आइतबार​ २२ फागुन २०७८ ०८:४८ PM मा प्रकाशित

प्रतिक्रिया