×

काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्कैठेक्का

images

जाजरकोट, २३ माघ : जाजरकोटका तीन पालिकामा प्रदेश सरकारले निर्माण गर्न लागेका सडक, पुलहरुको ठेक्का लागेको लामो समय भए पनि निर्माण व्यवसायीले काम नगर्दा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । कतिपय ठाउँमा पुल निर्माण नहुँदा मानिसको अकालमै ज्यान गएको छ । 

    नलगाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा नेपाल मेघा सिस्ने जेभीले लिएका ठेक्का अलपत्र परेका छन् । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जाजरकोटस्थित पूर्वाधार विकास कार्यालयमार्फत ती ठेक्का भएको थियो । बहुवर्षे नाम दिइएको उक्त ठेक्काको काम सुरु नहुँदा कार्यालय प्रमुखदेखि अन्य सरोकारवालालाई टाउको दुखाइको विषय बनेको छ । निर्माण व्यवसायीलाई काम गर्न पटकपटक कार्यालयले पत्र काट्छ, निर्माण व्यवसायी हुन्छ भन्छन् तर काम गर्दैनन् । जाजरकोटमा मात्र तीन वटा ठेक्का अलपत्र पार्ने नेपाल मेघा सिस्ने जेभीले अन्यत्र के गरेको होला खोजीको विषय बनेको छ । 

    रु तीन करोड ९८ लाखमा नलगाड नदी माथि नलगाड नगरपालिका–५ सिर्के र बारेकोट गाउँपालिका–८ साघुतरामा पुल अलपत्र परेको छ । यसको म्याद सकिएको छ महिना भइसकेको छ  । त्यहाँ अहिलेसम्म काम सुरु नै भएको छैन । त्यस्तै छेडागाड नगरपालिकाको साल्म खोलामा रहेको पुलसमेत अलपत्र छ । रु ४८ करोड ८० लाख १५ हजार निर्माण हुने उक्त पुलको ठेक्कासमेत यही जेभीले पाएको छ । विसं २०७८ साउन २९ मा पुल निर्माण सम्झौता भएको थियो । यही माघ २८ गते म्याद सकिँदैछ । कामको प्रगति भने तीन प्रतिशत मात्र भएको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादव बताउनुहुन्छ । यो पश्चिम जाजरकोटमा पर्ने छेडा–जुम्ला सडकको मुख्य पुल हो । यो पुल निर्माण नहुँदा पश्चिम क्षेत्रको यातायात सेवा प्रभावित हँुदै आएको छ ।

    म्याद सकिन आठ दिनमात्र बाँकी रहँदा निर्माण व्यवसायीले पुल निर्माणतर्फ चासो देखाएका छैनन् । कार्यालयले आधा दर्जन पत्र काटिसकेपनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन । यही सडकखण्डको छेडा, थालह सनाखोला चाँदे जुम्ला सडक, जुनिचाँदेमा काम नहुँदा अलपत्र छ । ३० किमी सडक निर्माण गर्नुपर्ने भए पनि नेपाल मेघा सिस्नेले काम नगर्दा अलपत्र पर्दै आएको हो । रु १५ करोड ५२ लाखमा सम्झौता भएको उक्त सडकको अहिलेसम्म दुई प्रतिशत मात्र काम भएको छ । यो सडक निर्माण गरिसक्नुपर्ने अन्तिम मिति २०८२ पुस ४ गतेसम्म हो । विसं २०७८ पुस ५ गते सम्झौता भएको थियो । रु २४ लाख ७१ हजार मात्र यो सडकमा खर्च भएको छ । 

    पश्चिम जाजरकोटको पुल र सडकका विकासको बाधकका रुपमा उक्त जेभी देखापरेको स्थानीयवासी बताउँछन् । समयमै काम नगर्दा पश्चिम जाजरकोटको सडक मृत्यु मार्गजस्तै भएको जुनिचाँदेका रेशम खड्काले बताउनुभयो । सडक तथा पुल निर्माणको ढिलाइका विषयमा कार्यालयले गरेको ताकेतासमेत निर्माण व्यवसायीले नटेर्दा प्रशासनको सहयोग लिनुपरेको छ । प्रशासन कार्यालयको पनि जिल्लामा भएका विकास निर्माणका काममा खासै चासो नभएको खड्काले बताउनुभयो । 

    जिल्लाबाट निर्वाचित भएर गएका जनप्रतिनिधि विकास निर्माण हुने गरेको ढिलासुस्तीका विषयमा मुकदर्शक भएको आरोप लाग्दै आएको छ । त्यस्तै बारेकोट गाउँपालिका–२ र ५ को बीचमा रहेको घाटस्थित नलगाड खोलाको पुल निर्माण अलपत्र छ । एकमात्र पिल्लर उठाएर बीचमा काम रोकिएको छ ।
 
     नारायनम् निर्माण सेवा नेपालगञ्ज १८ बाँकेले लिएको उक्त पुलको काम रु चार करोड ६५ लाख चार हजार ८५२ मा लिएको थियो । विसं २०७९ जेठ २३ गते सम्झौता भएको उक्त पुलको गत मङ्सिरमा म्याद सकिएर पुनः थपी २०८१ मङ्सिर २२ बनाइएको छ । रु एक करोड ४० लाख चार हजार ९११ मा निर्माण व्यवसायीले भुक्तानी लिएको कार्यालयले जनाएको छ । हालसम्म ३० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । सुरुमा निर्माण व्यवसायीले काम राम्रो गरेपनि पछिल्लो समय बीचमै छोडेर सम्पर्कविहीन भएको कार्यालय प्रमुख यादवले बताउनुभयो । पटकपटक पत्र काटेर छलफलमा आई काममा लाग्न आग्रह गर्दा पनि निर्माण व्यवसायीले नसुनेको उहाँको गुनासो छ । निर्माण व्यवसायीसँग सम्पर्क गर्दा फोन नउठी प्रतिक्रिया लिन सकिएन ।

    जिल्लामा विकास निर्माणको काम अलपत्र पर्दासम्म यहाँका जनप्रतिनिधि साना गोष्ठी, सभा र उद्घाटनका कार्यक्रममा रमाइरहेको आरोप स्थानीयवासीले लगाउँदै आएका छन् । जिल्लामा भएका सबैखालका बेथितिका विषयमा कोही पनि बोल्ने आँट नगर्ने स्थिति किन आयो नेकपा समाजवादीका जाजरकोट अध्यक्ष कमानबहादुर खड्का भन्नुहुन्छ । जता हेरे पनि चित्त बुझाउने ठाउँ नभएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी हरिश्चन्द्र शर्मा भने गुनासो आएपछि मात्र छलफल हुने गरेको बताउनुहुन्छ । गुनासो नआउँदासम्म केही थाहा नहुने उहाँको भनाइ छ ।

मङ्गलबार २३ माघ २०८० ०१:५५ PM मा प्रकाशित

प्रतिक्रिया