×

चुनावी एजेण्डामै सीमित हर्दौना पुल

images

तौलिहवा। कपिलवस्तुको बाणगंगा नदी अन्तर्गत महाराजगन्ज नगरपालिका १० को हर्दौनामा पुल बनाउने विषय वर्षौँदेखि चुनावी एजेण्डामै सीमित हुँदैआएको छ ।

हरेक पटक चुनावमा उम्मेदवारले हर्दौना र यशोधरा गाउँपालिका –८ स्थित ईटवा सुल्तनवापुर जोडने पुल बनाउने आश्वासन दिँदैआएका छन् । तर अहिलेसम्म त्यहाँ पुल बन्न सकेको छैन । पञ्चायतकाल, बहुदलकाल सङ्घीय लोकतान्त्रिक व्यवस्थामा पनि अहिलेसम्म हर्दौनामा पुल बन्न सकेको छैन ।

नदीमा पुल नहुँदा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न स्थानीयहरू बाध्य छन् । ‘हर्दौनामा पुल बनेमा यस क्षेत्रको कायापलट हुन्छ’ ६५ वर्षीय स्थानीय रामटहल लोनियाले भने, ‘तर नेताहरूले पुलकै बहानामा कैयौँ पटक भोट लिएर काम गरेनन् ।’ । आफू सानो छँदै यहाँ पुल बन्ने कुरा बारम्बार उठ्दै आए पनि पुल नबनेको उनले दुखेसो पोखे ।

तत्कालीन हर्दौना गाविस र अहिले महाराजगन्ज नगरपालिका १० मा पाँच गाउँ पर्छन् । यो क्षेत्र भारतसँग सीमा जोडिएको क्षेत्र पनि हो । हर्दौनादेखि उत्तरमा कजारहवा हुँदै गैड्हवासम्म पक्की बाटो छ । हर्दौनामा पुल बनेमा सदरमुकाम तौलिहवा जान सहज हुने उनको भनाइ छ ।

हर्दौनामा पुल बनेमा जिल्लाको विकासले फड्को मार्ने नन्दलाल चौहानले बताए । बाणगंगा नदीको लक्ष्मणघाट, रामघाट बिजगौरी र बर्गदीघाट पुल बनेर सञ्चालनमा आइसकेको छ । तर हर्दौनामा अहिलेसम्म आश्वासन बाहेक केही नपाएको चौहानको भनाइ छ ।

लगातार चार पटक सांसद जितेका बृजेशकुमार गुप्ता, नेता सुरेन्द्रराज आचार्य अहिले सो क्षेत्रमा आमनेसामने छन् । अहिले दुवै उम्मेदवारले हर्दौनामा पुल बनाउने कुरा उठाइरहेको चौहानले बताए । पुल नबन्दा नदीको बाढीले अहिलेसम्म यस क्षेत्रका सात जनाको ज्यान गएको आजको गोरखापत्र दैनिकमा खवर छ ।
 

शनिबार १९ कात्तिक २०७९ ०८:३५ AM मा प्रकाशित

प्रतिक्रिया