×

पश्चिम नेपाल भूकम्पको भयानक जोखिममा, पूर्वतयारी र सतर्कताका लागि सरकार उदासिन

images

काठमाडौं । शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्निट्यूडको भूकम्पले जाजरकोट–रुकुमको जनजीवन अत्यन्तै प्रभावित बनेको छ । 

भूकम्पबाट हालसम्म १५७ जनाले ज्यान गुमाएका छन् भने १७० जना घाइते भएको नेपाल प्रहरी केन्द्रीय कार्यालय काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । 

उनका अनुसार जाजरकोटमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ भने रुकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएकाम छन् । घाइते हुनेहरूमा जाजरकोटका ८१ जना छन् भने रुकुम पश्चिममा ७८ जना रहेका छन् । 

घाइतेहरूको स्थानीय अस्पताल, सुर्खेत अस्पताल, बाँकेको भेरी अस्पतालमा उपचार भइरहेको छ । अवस्था जटिल भएका घाइतेहरूको थप उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला अस्पताल जाजरकोट–रुकुमले जनाएको छ । 

तीन दिन पहिले गएको भूकम्प पश्चात् झन्डै २५० भन्दा बढी परकम्पहरू रिकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । उक्त मापन केन्द्रले जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्प पश्चात् अझैँ केही दिनसम्म सामान्य परकम्प जानसक्ने अनुमान गरेको छ । 

परकम्पबाट थप क्षति हुनसक्ने सम्भावना न्यून भए पनि सतर्कता अपनाउन भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए । उनले तत्कालै ठूलो रेक्टर स्केलको भूकम्प नआए पनि स–साना परकम्प जानसक्ने बताएका छन् । 

भूकम्पविद् डा.लोकविजय अधिकारीले जाजरकोट–रुकुम पश्चिममा गएको भूकम्प गोरखाको बारपाक, सुदूरपश्चिमको बझाङमा गएको परकम्प नभएर नयाँ भूकम्प गएको दाबी गरेका छन् । उनले रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पसँग कुनै परकम्पसँगको सम्बन्ध नरहेको समेत बताए । 

अधिकारीले भने– ‘पश्चिम नेपालको भूसतहमुनि ५०० वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेको वैज्ञानिक अध्ययनहरूले देखाएका छन् । यसले ८ भन्दा बढी म्याग्निट्यूडको भूकम्प जानसक्ने क्षमता राख्नसक्छ । विगत केही महिनायता पश्चिम नेपालका जिल्लाहरूलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् । जाजरकोट–रुकुमका क्षेत्रमा ८ वा त्योभन्दा बढी म्याग्निट्यूडको शक्तिशाली भूकम्पको जोखिम कायमै रहेको छ ।’

पछिल्ला तथ्यांकहरू अध्ययन गर्दै जाँदा पछिल्ला केही वर्षयता पश्चिम नेपालमा बढी भूकम्पहरू गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्र बताउँछ । उक्त केन्द्रले पश्चिम नेपालका अधिकांश जिल्लाहरूमा दैनिक स–साना र बेलाबेला मझौला किसिमका भूकम्प जाने गरेको छ । यस घटनाले उक्त क्षेत्रमा भूकम्पीय उच्च जोखिम रहेको देखाउँछ । 

पृथ्वीको सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष दुई सेन्टिमिटरको दरले उत्तरमा युरेसियन प्लेटतर्फ सरिरहेकाले हिमालय क्षेत्रमा भूकम्पीय दरार पैदा भइरहेको भूकम्पविद्हरू बताउँछन् । जसका काराण पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहेको छ । भूकम्प मापन केन्द्रका अनुसार नेपालमा २ म्याग्निट्यूडभन्दा बढीका झन्डै १० वटा भूकम्प दैनिक रूपमा जाने गरेका छन् । 

आजभन्दा ८ वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो । सो भूकम्पले झन्डै ९ हजारभन्दा बढीको ज्यान गयो । गत असोजमा बझाङमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पका कारण १२ जना घाइते भएका थिए । अहिलेसम्मको अध्ययनले गोरखाभन्दा पश्चिम भारतको देहरादुनभन्दा पूर्वको करिब ८०० किलोमिटर भू–भागमा सन् १५०५ यता महाभूकम्प नगएको हुँदा यो क्षेत्रमा जोखिम रहेको विज्ञहरूको आकलन छ । 

नेपालको अन्य भू–भागभन्दा पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहेको बताइएको छ । यसबाट बच्नका लागि स्वयं आफूले सतर्कता अपनाउनुपर्ने भूकम्प मापन केन्द्र भनाइ छ । यद्यपि राज्यले पनि यसबारे समयमै सोच्न जरुरी रहेको छ । 

नागरिकको ज्यान जोखिमबाट बचाउन राज्य चनाखो बन्नुपर्ने भूकम्पविद्हरू बताउँछन् । यद्यपि पछिल्ला वर्षहरूमा भूकम्पको पूर्वचेतावनी प्रणालीले विपद्‌बाट मानिसहरूलाई जोगिन सहयोग पुगेको उक्त मापन केन्द्र बताउँछ । किनकि यसअघिको सबैभन्दा ठूलो भूकम्प गोरखाको बारपाकमा गएको थियो । यसबाट मानिसहरूले बच्न विभिन्न उपाय पनि अपनाउँदै आएका छन् । 

पछिल्लो समय विभिन्न उपकरणको प्रयोगमार्फत पनि भूकम्प अर्थात् परकम्पबाट जोगिन सहयोग पुगेको छ । यतिमात्रै नभएर देशका ७ वटा प्रदेश र ७७ वटै जिल्लाहरूमा पुगेर भूकम्पबाट कसरी बच्ने जस्ता उपाय सिकाउनु जरुरी रहेको खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरे बताउँछन् ।

यद्यपि जाजरकोट–रुकुम पश्चिममा गएको भूकम्पमा भने सरकारले निकै तदारुकता देखाएको छ । घाइतेको समयमै उद्धार तथा उपचार र राहतको व्यवस्थापन कार्यलाई सरकारले तीव्रता दिएको छ ।

आइतबार​ १९ कात्तिक २०८० ०५:३४ PM मा प्रकाशित

प्रतिक्रिया