काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका रिगललाई सरकारले कुन आधारमा आममाफी दिइएको जानकारी गराउनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका रिगललाई सरकारले कुन आधारमा आममाफी दिइएको जानकारी गराउनुपर्ने बताएका हुन् ।
‘संविधानसभाले बनाएको संविधान, संविधानले बनाएको कानुन र ती कानुन अहिले अपव्याख्या भएकोले हाम्रो काँधमा कानुन बनाउने जिम्मेवारी आएको छ,’ उनले भने, ‘आममाफीको निर्णय गलत छ। सदनदेखि सडकसम्म विरोध भएको छ। विषय अदालतमा पनि पुगेको छ । सरकारले यसको कारण सदनलाई जानकारी गराउनुपर्छ ।’
उनले सरकार जवाफदेही हुनुपर्ने र निर्णय गरेर सरकार भाग्न नपाउने बताए । सरकारमा जो रहे पनि संविधानको छिद्र चिर्दै गम्भीर अपराधका दोषीलाई कैद माफी दिन नहुनेमा उनले जोड दिए ।
हाल मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी फौजदारी कसुर तथा सजाय निर्धारण ऐन, कारागार ऐन र सर्वोच्च अदालतका विभिन्न फैसलालाई आधार बनाएर कैद छुटको निर्णय हुने गरेको थापाले बताए ।
तर सरकारले यी कानुन र अदालतको निर्णयमध्ये जुन कानुनमा टेक्दा सजाय छुट दिन सकिन्छ त्यसैमा टेकेर निर्णय गरेको भन्दै यसरी भइरहेको कानुनको दुरुपयोग रोक्नुपर्ने बताए ।
प्रतिक्रिया