×

कर्ण थापाको फरक मत: पार्टी गैरसरकारी संस्थाको ढाँचाबाट चल्यो, वैचारिक बहसको वातावारण छैन

images

काठमाडौँ । नेकपा एमालेका स्थायी कमीटी सदस्य कर्ण बहादुर थापाले आजदेखि शुरु हुने दोस्रो विधान महाधिवेशनमा फरक मत प्रस्तुत गर्ने भएका छन् ।

थापाले प्रस्तुत गर्ने फरक मतलाई विहिबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो । उनले आफ्नो फरक मतमा पार्टीमा विधमान प्रमुख समस्याको बारेमा विस्तृत रुपमा आफ्नो धारणा राखेका छन् । उनले पार्टीमा  गुटको आबरणमा वाञ्छित, अवाञ्छित, बैध, अबैध क्रियाकलाप खुलेआम हुनथालेको उल्लेख गर्दै सीमित नेताहरु बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यास पार्टीमा हावी भएको आरोप लगाएका छन् ।

उनले पार्टीमा छलफल, बहस, आलोचना, आत्मालोचनाको अभ्यासले प्राथकिमता पाउन छोडेको आरोप लगाउदै पार्टीका कमिटीहरुमा राजनीतिक, वैचारिक बहसको बाताबरण नभएको र सिंगो पार्टी राजनीतिक, वैचारिक रुपमा होइन, प्राविधिक रुपमा गैरसरकारी संस्थाको ढाँचाबाट चलिरहेको बताएका छन् ।  

थापाले आफ्नो फरक मतमा राखेका वर्तमान पार्टी जीवनका प्रमुख समस्या: 

हामीले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा विकास गर्ने क्रममा निश्चित मान्यताहरुलाई स्थापित गरेका थियौं । पार्टी सञ्चालनको विधि, कमिटी प्रणाली र सञ्चालनको विधि र प्रकृया तथा आफ्नै मौलिक ढाँचा र नेतृत्व निर्माणको लोकतान्त्रिक विधिलाई विधानद्वारा निर्देशित हुने व्यवस्था गर्यौं । आठौँ राष्ट्रिय महाधिवेशनमा बहुपदीय प्रणालीलाई अभ्यासमा ल्यायौं । पदाधिकारीको परिभाषित जिम्मेवारी विधानमै तोकियो । सबै तहका पदाधिकारी र सदस्यहरु प्रत्यक्ष निर्वाचित हुने प्रणालीलाई पार्टी जीवनमा लागु गर्यौं । स्वतन्त्र र गोप्य मतदानका माध्यमबाट महाधिवेशन वा अधिवेशनका प्रतिनिधिले नै आफ्नो नेता छान्ने प्रणाली लागु गर्यौं । 

नेताले नेता चुन्ने विगतको प्रणालीलाई छोडेर कार्यकर्ताले नै नेता चुन्ने लोकतान्त्रिक अभ्यासलाई स्थापित गर्यौं । प्रमुख नेता वा नेताहरुको समुहले नेता बनाउन खोजेर पनि नेता बन्न नसक्ने र प्रमुख नेता वा नेताहरुको समुहले नचाहदा पनि नेता चुनिन सक्ने अभ्यासलाई पार्टीको जीवनमा व्यवहारमा लागु गर्यौं । टिके प्रथालाई संपूर्ण रुपमा पूर्णविराम लगाउने काम भयो । पार्टी विधानमै पार्टी सदस्यलाई सार्वभौम बनाउने व्यवस्था गरियो । पार्टी सदस्यले आफ्नो मतको विवेकसम्मत प्रयोग गरेको देखियो । 

समुह–समुह बनाएर खुल्ला प्रतिस्पर्धा हुदापनि समुहको प्रमुख नेता एक समुहको निर्वाचित हुदा अर्का समुहको पदाधिकारी र सदस्य निर्वाचित भएका थुपै्र परिणाम देखिए । देशभरीका अनेकांै कमिटीका अधिवेशन र जनबर्गिय संगठनका अनेकौ कमिटीमा लोकतान्त्रिक विधिबाटै आ–आफ्नो कमिटीका नेता निर्वाचित गर्ने अभ्यासलाई जिवन्त बनाउने काम भयो । 

यस अभ्यासले नेता र कार्यकर्ताको बीचमा जीवन्त सम्बन्ध हुने र पार्टीभित्र सकारात्मक रक्त सञ्चार गराउने काम भयो । पार्टी र जनबर्गिय संगठनका सबै कमिटीमा व्यापक छलफल र बहसबाट निर्णयमा पुग्ने लोकतान्त्रिक अभ्यास पनि भयो । पार्टीमा नेतृत्व विकासको सहज प्रणाली स्थापित गर्न एउटै कार्यकारी पदमा दुई अवधि भन्दा बढि नरहने र ७० वर्ष उमेर हद कायम गरेर जीवन्त पार्टी निर्माण गर्न लोकतान्त्रिक मान्यतालाई स्वीकार गरियो र नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा उक्त प्रावधान राखियो । पार्टीका सदस्यहरु नेताहरुको वरिपरि घुमिरहने समस्याबाट एक स्तरको मुक्ति भएको थियो । 

पार्टी नेता बन्न चाहने व्यक्तिहरु पार्टीका कार्यकर्ता र जनतासँगको घनिष्ठ सम्बन्धमा रहनु पर्ने आम परिस्थिति निर्माण भयो । पार्टीको नवौं महाधिवेशनसम्म आई पुग्दा हाम्रो आन्दोलनको इतिहासमा कहिल्यै पनि अभ्यास नगरिएको औपचारिक मतपत्रमै समुह खडा गरी निर्वाचित हुने अभ्यास पनि भयो । नेतृत्व निर्माणका सम्बन्धमा खुला प्रतिस्पर्धाको अभ्यास त नमुना ढंगले भयो तर यस बीचमा शिरदेखि तिरसम्मै गुटगत गतिविधि तीब्र भए । गुटको आबरणमा वाञ्छित, अवाञ्छित, बैध, अबैध क्रियाकलाप खुलेआम हुनथाले । प्रतिस्पर्धा स्वस्थ होइन, अस्वस्थ हुन थाले । पार्टी सदस्य बनाउन अरुले शुल्क तिरि दिने गलत अभ्यासको शुरुआत पनि यसै अवधिमा भयो । कुनै कुनै गुटमा सक्रिय नहुने सक्षम र असल कार्यकर्ताहरु माथि अन्याय हुने स्थिति भोग्नु पर्यो । यस अवधिमा विकास भएका नकारात्मक क्रियाकलाप

र प्रवृत्तिलाई हटाएर स्वस्थ बहस र प्रतिस्पर्धाको असल अभ्यासलाई पार्टी जीवनको अभिन्न अंग बनाउनु पर्नेमा नवौं महाधिवेशन पछि जबजले निर्देशित गरेका असल अभ्यासहरु पनि समाप्त भएर गए । छलफल, बहस, आलोचना, आत्मालोचनाको अभ्यासले प्राथकिमता पाउन छोड्यो । भिन्न मत सके प्रकट हुन नदिने, भईहाले भने असहिष्णुताको व्यवहार गर्नेमात्रै होइन, कतिपय अबस्थामा प्रतिशोध साँध्नेसम्मका व्यवहार पार्टी जीवनमा देखिए । 

सीमित नेताहरु बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यासले निर्णयको प्रभावकारी कार्यान्वयन र जिम्मेवारी बहन नहुने समस्या पार्टीमा देखियो । केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटव्यूरोका बैठकहरु समयमा नबोलाउने, बैठक भएपनि प्रयाप्त छलफल नहुने, हरेक निर्णय सचिवालयबाट गर्ने र तुरुन्तै कार्यान्वयन गरी हाल्ने, विषयको सान्दर्भिकता सकिसके पछि केन्द्रीय कमिटीबाट अनुमोदन गराउनाले दुई महाधिवेशनको बीचको सर्वाेच्च कार्यकारी केन्द्रीय कमिटी सचिवालयका निर्णयमा ल्याप्चे लगाउने कमिटीको रुपमा भूमिकाविहीन अबस्थामा पुर्याइएको छ ।

भयरहित राजनीतिक बातावरणमा आफुलाई लागेका कुरा प्रष्टसँग राख्ने अबस्था छैन । दब्बु मानसिकतामा रहेका कार्यकर्ता र नेताहरु संगठित रहेका कमिटीहरु औपचारिकतामा सीमित रहेको अबस्था छ । कमिटीहरुमा राजनीतिक, वैचारिक बहसको बाताबरण छैन । सिंगो पार्टी राजनीतिक, वैचारिक रुपमा होइन, प्राविधिक रुपमा गैरसरकारी संस्थाको ढाँचाबाट चलिरहेको स्थिति छ । जबजले स्थापित गरेका मान्यताहरु हात्तिको देखाउने दाँतमात्रैमा सीमित गरिएको छ । यस स्थितिबाट पार्टीलाई मुक्त गर्न हामीले जबजको मूल सिद्धान्त र त्यसले विकास गरेका मूल्य र मान्यतालाई दह्रो गरी आत्मसात गर्नु पर्दछ ।

 

शुक्रबार​ २० भदौ २०८२ ०९:४५ PM मा प्रकाशित

प्रतिक्रिया