×

नेवार समुदायले मनाए ‘सिथि नखः एक, परम्परा अनेक’

images

नेवार समुदायले सिथि नखः एक, परम्परा अनेक’ आज धुमधामका साथ मनाएको छ । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने सिथि नखः नेवार समुदायले मनाउने चाडपर्वमध्ये एक हो । 

नेवार समुदायले लिच्छविकालदेखि नै मनाउँदै आएको सिथि नखः वर्षभरी मनाउने अन्तिम पर्वका रुपमा लिइने संस्कृतविद् श्रीकान्त श्रेष्ठ बताउनुहुन्छ । वर्षायाम सुरु हुने बेलामा पर्ने जेष्ठ शुक्लपक्षको षष्ठी तिथि सिथि नखः पर्व एक भए पनि यस दिन अनेक परम्परा गरी पर्व मनाउने गरिन्छ । 

यस पर्वका अवसरमा आज पानीका परम्परागत स्रोतहरूको सरसफाइ गरिएको छ । नेवार समुदायले आज आफ्नो घर, टोल र क्षेत्रमा रहेका इनार, ढुङ्गेधारा, कुवा र पोखरी सफा गरेको छ । वर्षौंदेखि चल्दै आएको उक्त परम्परा अहिले पनि जारी छ । सिथि नखःका दिन मुहान सफा ग¥यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास रहँदै आएको छ । काठमाडौँमा २३३ परम्परागत ढुङ्गेधारा अझै चालू रहेको र १५६ लोप भइसकेको बताइएको छ । परम्परागत इनार ललितपुरमा ३८८ र भक्तपुरमा ३९८ रहेको तथ्याङ्क छ ।

भगवान् महादेव र पार्वतीका ज्येष्ठ पुत्र कुमारको जन्म दिनसमेत भएकाले यस दिन बिहानै स्नान गरी कार्तिकेश कुमारको पूजा गरी विभिन्न  दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको संस्कृतविद् श्रेष्ठ बताउनुहुन्छ । सिथि नखःका दिन घर आँगनमा गोबरले लिपेर पाँच पलेस्वां लेखी श्रीकुमार (सिथिद्यः) भनी आराधना गरी पञ्चोपचार घरको मूल ढोका बाहिरको (पिखालखु) अर्थात् क्षत्रपाल कुमारलाई सिथि देवताका रुपमा पूजा गर्ने परम्परा छ । 

त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत यस दिन खाने गरिन्छ । असारमा काम गर्न शरीर बलियो बनाउने र घरमा आएका बाधा व्यवधान हट्ने जनविश्वास रहँदै आएको छ । यस पर्वसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने पर्वका रुपमा समेत यसलाई लिने गरिन्छ । उपत्यकामा बसोबास गर्ने नेवारमध्ये देवाली पूजा र कुल (पूजा)को निश्चित तिथि नभएकाले यसै दिन कुल देवताको पूजा गरी देवाली मनाउने परम्परा छ । 

त्यसैगरी सिथि नखःको दिनदेखि ज्यापु समुदायले धिमे बाजा थन्क्याउने गर्छन् । धिमे बाजा थन्क्याएर एक महिनासम्म रोपाइँमा लाग्ने भएकाले यसलाई सिनाज्या पर्व पनि भन्ने गरिन्छ । त्यसैले सिथि नखःको भोलिपल्टदेखि गथेमङ्गल अर्थात् घण्टाकर्ण नआएसम्म यो अवधिभर धिमे बाजा र भुस्या बजाउन नहुने मान्यता छ । बौद्धमार्गीले यस दिनलाई बुद्ध महासत्व भई जन्म लिएका बेलाका रुपमा मनाउने गर्दछन् । 

सिथि नखः अर्थात् कुमार षष्ठीलाई रावण षष्ठी पनि भनिन्छ । अयोध्याका राजा दशरथका जेठा छोरा रामचन्द्रले रावणबाट हरण भएकी पत्नी सीतालाई फर्काएको दिनका रुपमा पनि यस दिनलाई लिइन्छ । नेवार समुदायले मात्रै होइन, अचेल देशभर सबै जातजातिले पानीको महुान, टोल सरसफाइ गरी यो पर्व मनाउने गर्दछन् । सरकारले सिथि नखःको सन्दर्भमा राष्ट्रिय सरसफाइ सप्ताहको घोषणा गरिसकेको छ । 

सन् १८९१ मा वीरशमशेरले पाइप लाइनबाट पानी अपूर्ति गर्ने वीरधारा ल्याउनुभन्दा अगाडिसम्म उपत्यकाको सम्पूर्ण पानी आपूर्ति ढुङ्गेधारा, इनार, कुवा, खोलाबाट हुँदै आएको बताइन्छ । ढुङ्गेधाराबाट दिनरात बग्ने पानी खेर जान नदिन ढलको व्यवस्था, यसको दायाँबायाँ खाल्डो बनाएर जमिनमा पानी जम्मा गर्ने र नजिकै इनार खनेर पानी सुरक्षित गरिराख्ने प्रविधि पनि उपत्यकावासीले प्राचीनकालदेखि नै प्रयोगमा ल्याइरहेको र पानीको पर्याप्त आपूर्ति भइरहेको थियो । अहिले भने भवन निर्माण बढ्दै गएपछि कैयौँ परम्परागत पानीको स्रोत र मुहान पुरिने तथा इनार र ढुङ्गेधारा लोप हुन थालेपछि पानीको अभाव हुन थालेको संंस्कृतिविद् श्रेष्ठ बताउनुहुन्छ ।
 

आइतबार​ २२ जेठ २०७९ ०८:२६ PM मा प्रकाशित

प्रतिक्रिया