काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदै छन् । अदालतमा मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने
अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन ।
काठमाडौँ जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपवाद’ का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो। अब उनको तारिख २९ असारमा राखिएको छ ।
लामिछानेका कानुन व्यवसायीले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनुपर्ने भन्दै भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो । जसका कारण लामिछाने अब प्रतियोगिताभर तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनु पर्ने छैन ।
विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउने छन् भने २९ असारमा तारिख बुझेपछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाइ सुरु गरिने गरी अदालतले व्यवस्था मिलाएको छ । लामिछाने आज प्रशिक्षक देसाईसँगै राती २ः०० बजे अफ्रिका जाने बुझिएको छ ।
प्रतिक्रिया