काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले यही मे ९ देखि २० सम्म थाइल्याण्डमा आइसीसी महिला टी–२० विश्वकपको एसिया छनोट खेल्दैछ । कुल ९ देशले भाग लिने यस एसिया छनोटमा नेपाल समूह सी मा रहेको छ । नेपालको समूहमा बहराइन र हङकङ रहेका छन् । एसिया छनोटको समूह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समूह बी मा मलेसिया, कतार युएई रहेका छन् ।
समूहमा हरेक टिमले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि समूह विजेता ३ देशले फाइनल राउन्ड खेल्ने छन् । फाइनल राउन्डमा एक अर्काविरुद्ध खेलेपछि शीर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् ।
नेपालले मे ९ मा हङकङ चाइनासँग खेल्ने छ भने मे १० मा बहराइनसँग खेल्ने तालिका रहेको छ । त्यस्तै मे १३ मा फेरि हङकङ चाइना र मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ । एसिया छनोट खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कविता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनीषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन् ।
प्रतिक्रिया