×

चुनाव लगत्तै सडक सङ्घर्षमा जान्छु : प्रचण्ड

images

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनाव लगत्तै आफू सडक सङ्घर्षमा जाने घोषणा गर्नुभएको छ । निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै देशलाई रूपान्तरण गर्न आफू चुनावपछि लगत्तै सडक सङ्घर्षमा जाने उहाँको भनाइ थियो । 

आइतवार काठमाण्डाैमा आयोजित 'समाजवादको नेपाली मार्गचित्र' विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र त्यसको निकासका लागि चुनाव लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘अहिलेको निर्वाचन प्रणाली बदल्नै पर्छ । यो मेसिनरीले पार्टी, नेताहरूलाई पनि भ्रष्टीकरणको बाटोमा पुर्‍याउँछ । देशलाई अघि बढाउन कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित शासन प्रणाली हुुनुपर्दछ । हामी प्रदेश र सङ्घको चुनावकाे सङ्घारमा छौँ । अहिले सबैभन्दा बढी छटपटी र चिन्तित पनि म छु । सङ्घीयता र गणतन्त्रमाथि जसरी प्रहार भइराखेको छ । विभिन्न नाम र कोणबाट यो परिवर्तनलाई निस्तेज पार्ने र यो परिवर्तनको नेतृत्व गर्ने आफ्नो पार्टी र नेतृत्वलाई निस्तेज गर्ने क्रम चलिराखेको छ । हेर्नुहोला–चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु । सडकबाट मात्रै समाजवादको परिकल्पना संविधानमा गर्न खोजेको हो । मैले कम्युनिस्ट पार्टी एकता गर्दा पनि समाजवादतिर लैजाने कुरा गरेको छु । त्यसलाई प्राप्त गर्न अब एकचोटि फेरी र यो मेसिनरी बदल्नका लागि जनतामा जानुको कुनै विकल्प छैन ।’

अध्यक्ष प्रचण्डले समाजवादको यात्रालाई सुनिश्चित गर्नका लागि आफूले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेको तर त्यो टिक्न नसकेको पनि स्मरण गराउनुभयो । उहाँले एक वर्षभित्र देशमा आफू नेतृत्वको सडक सङ्घर्ष हुने र त्यसले देशमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याइ राजनीति क्षेत्रमा देखिएका सबै विकृति र विसङ्गतिको अन्त्य हुने दाबीसमेत गर्नुभयो । त्यसका लागि कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर अघि बढ्ने उहाँकाे भनाइ थियाे । 

अध्यक्ष प्रचण्डले संसद् विघटन हुँदा भएको सडक आन्दोलनकै कारण त्यसको पुनर्स्थापना गर्न आफूहरू बाध्य भएको भनेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्वीकार गरेको स्मरण गराउँदै आफूहरू त्यही आन्दोलनकै बाटोबाट अघि बढ्ने बताउनुभयाे ।

आइतबार​ १९ भदौ २०७९ ०५:२९ PM मा प्रकाशित

प्रतिक्रिया