×

पाँच वर्ष सत्ता फेरबदल हुने क्रम चलिरहन्छ - सभापति रवि लामिछाने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन्। कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।  उनले भने, ‘हामी अस्थिरता नहोस् भन्ने चाहन्छौँ। तर, हामी अझै केही समय हेर्छौं। यही कर्मकाण्डी ढंगले चलिरहे कुनै न कुनै ढंगबाट आवश्यक निर्णय लिन्छौँ।’

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अहिले रास्वपा संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको जिकिर गरेका छन् । ‘सत्ता फेरबदल हुने चर्चा चलेको कुरा मैले पनि सुनेको छु तर अहिले हामी संगठन विस्तारको क्रममा रहेकाले त्यो रेसमा छैनौँ,’  लामिछानेले भने, ‘अघिल्लो पटक नै सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय लिएका हौँ ।

सत्ता फेरबदलबारे सुनेपनि म न कुनै बैठकमा गएको छु, न कुनै नै चासो राखेको छु । कुनै पनि क्रियाकलापमा सहभागी छैनौं ।’तर मिश्रित जनमतका कारण यो पाँच वर्ष सत्ता फेरबदल हुने क्रम चलिरहने लामिछानेको भनाइ छ । अहिले सरकारले जनपक्षीय काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्र सीमित रहेको आरोप उनले लगाए । 

अहिलेको आर्थिक संकटको समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा सरकारले नियमित जस्तै बजेट ल्याएको उनले बताए । ‘यो बजेटलाई कसले स्वागत गरेको देख्नुभयो न साना व्यवसायीको पक्षमा छ, न लघुुवित्त पीडितको पक्षमा छ,’ उनले भने, ‘यसमा त्रुटी छ । सरकारले कुनै न कुनै कार्यक्रम ल्याएर सच्याउनुपर्छ । केही समय हामी हेर्छौं ।’

मङ्गलबार १९ असार २०८० १२:२० PM मा प्रकाशित

प्रतिक्रिया