×

न्यूयोर्क पुर्याइए राष्ट्रपति मादुरो, डेल्सीलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी

images

न्युयोर्क – भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्‍याएको छ । बिबिसीका अनुसार काराकसमा आक्रमणपछि पक्राउ परेका मधुरोलाई न्युरोर्क पुर्‍याएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

बिबिसीका अनुसार पक्राउ परेका मदुरो न्युयोर्क पुर्‍याइएका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भेनेजुएलाका राष्ट्रपति मादुरोको तस्बिर सार्वजनिक गर्दै मादुरो अमेरिकी नौसैनिक जहाजमा सवार रहेको दाबी गरेका थिए ।


ट्रम्पले यसअघि एक अन्तर्वार्तामा पनि यही जहाजमार्फत मादुरोलाई अमेरिका ल्याइँदै गरेको बताएका थिए। अमेरिकाले शनिबार बिहानै राजधानी काराकाससहित विभिन्न स्थानमा आक्रमण गरेयता उनी बेपत्ता थिए । आक्रमणपछि अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको दाबी गरेको थियो ।

राष्ट्रपति मादुरो पछिल्लो पटक शुक्रबार काराकासमा चिनियाँ अधिकारीहरूसँगको भेटघाटका क्रममा सार्वजनिक भएका थिए । यसैबीच, भेनेजुएलाका अधिकारीहरूले वाशिङ्गटनको आक्रमणमा मृत्यु भएका र घाइते भएका सेना र सर्वसाधारणको तथ्याङ्क संकलन भइरहेको जनाएका छन् ।

एएफपीका पत्रकारहरूले राजधानी काराकासमा सुरुमा विस्फोटनको आवाज सुनिएको र राजधानी काराकास र वरपरका क्षेत्रमा ‘आतङ्क मच्चिएको’ बताएका छन् । देशका अन्य शहरहरूमा पनि थप विस्फोटहरू भएका बताइएको छ ।

राजधानीका आकासमा करिब एक घण्टासम्म विमानको आवाज सुनिएको र उक्त अवधिभर व्यापक हवाई आक्रमणहरू भएको र ठूला ठूला विस्फोटका आवाज सुनिएको थियो ।

आक्रमणबाट भेनेजुएलाको राजधानीका कैयौँ क्षेत्र बिजुलीविहीन भएका छन् । अमेरिकी आक्रमणबाट संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको भन्दै भेनेजुएलाले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । 

यस्तै भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी पाएकी छन् । अमेरिकाले राष्ट्रपति  मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी पाएकी हुन् ।

रोयटर्सका अनुसार त्यहाँको सर्वोच्च अदालतले प्रशासनिक कामलाई निरन्तरता दिनु आवश्यक भएको भन्दै उपराष्ट्रपतिले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु उपयुक्त हुने जनाएको थियो ।

शनिबार अमेरिकाले भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति  मादुरोलाई नियन्त्रण लिएको हो । अमेरिकी राष्ट्रपति  टम्पले अब भेनेजुएलामा अमेरिकाले नै सरकार चलाउने बताएका छन्। ५७ वर्षीया डेल्सी अधिवक्ता हुन् । मादुरो सरकारकी विश्वास पात्र उनलाई अनुभवी राजनीतिज्ञको रुपमा चिन्छन्। उनीसँग सञ्चार, विदेशमन्त्रीको भएको अनुभव छ ।

सन् २०१८ मा उनी त्यहाँको उपराष्ट्रपति नियुक्त भएकी हुन् । एक वर्ष अगाडि मात्र उनलाई तेल मन्त्रालयको जिम्मेवारीसमेत दिइएको थियो । अमेरिकाले मादुरोलाई नियन्त्रणमा लिएपछि अमेरिकी हस्तक्षेपको उनले कडा शब्दमा विरोध गरेकी छन्।

डेल्सी रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकूकी छोरी हुन् । उनका बुवा जर्ज एन्टोनियो रोड्रिगेज भेनेजुएलाका वामपन्थी गुरिल्ला लडाकू थिए। उनले बुवाको योगदानकै आधारमा राजनीतिमा होमिने अवसर पाएकी थिइन्।

आइतबार​ २० पुस २०८२ ११:०८ AM मा प्रकाशित

प्रतिक्रिया