काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।
सन्दीप लामिछानेको कप्तानमा रहेको विराटनगर पाँच खेल खेल्दा ८ अंकसहित तेस्रो स्थानमा छ भने रोहित पौडेल कप्तान रहेको लुम्बिनी समान खेलमा चार अंकसहित छैटौं स्थानमा छ ।आजको खेलमा विजयी भए विराटनगर एक खेल अगाडि नै प्लेअफमा पुग्नेछ भने प्लेअफको दौडमा सहभागी बन्न लुम्बिनीले आजको खेल जित्नै पर्ने दबाब छ ।२१ खेल सकिँदा अंक तालिका भने रोचक बनेको छ।
अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ। एक खेल मात्र खेल्न बाँकी रहेको काठमाण्डुले दुई खेल गुमाएर ८ अंक बनाएको छ। पाँच खेलमा एक खेल गुमाएको विराटनगरको समेत समान ८ अंक रहेको छ। रनरेटका आधारमा काठमाडौं दोस्रो स्थानमा उक्लिएको छ भने विराटनगर तेस्रो स्थानमा छ।
पोखरा चार अंकसहित चौथो स्थानमा छ भने समान खेल खेलेका चितवन र लुम्बिनीको समान चार अंक छ।कर्णाली र जनकपुरको समान दुईदुई अंक छ। ६ खेल खेलिसकेको कर्णाली सातौं स्थानमा छ भने तालिकाको पुछारमा रहेको जनकपुरले दुई खेल खेल्न बाँकी छ ।नपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।
प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।
प्रतिक्रिया