×

‘समयमा मल दिन नसक्नेहरू अहिले मत माग्दै आएका छन्’

images

रौतहट । मल अभावमा यसपटक धानको उत्पादन कम भएपछि रौतहट गढीमाई–४ की सरितादेवी निराश छिन्। धान कम फलेकोमा भन्दा किन्दा पनि मल नपाएकाले उम्मेदवार देख्नेबित्तिकै उनी आक्रोशित हुन्छिन्। ‘तपाईंहरु पनि भोट माग्न आएको कि,’ हामीलाई देख्नेबित्तिकै उनले भनिन्, ‘मलाई त नेता देख्यो कि रिस उठ्छ ।’

पति वैदेशिक रोजगारीमा गएकाले सन्तानसहित खेतमा धान काट्दै गरेकी सरितादेवीले समयमा मल पाएको भए उत्पादन दोब्बर हुने सुनाइन्। ‘समयमा मल दिन नसक्नेहरू अहिले मत माग्दै आएका छन्,’ उनले भनिन्, ‘महँगो मल किन्न नसक्दा अहिले धान कम फलेको छ ।’ सामान्यतया प्रतिकट्ठा पाँच मन फल्ने गरेको खेतमा तीन मन पनि मुस्किलले पुग्ने उनले सुनाइन्।

उनको जस्तै आक्रोश छ, दुर्गाभगवती गाउँपालिकाका आत्माराम शाहको पनि। पाँच मन फल्ने खेतमा दुई मन मात्र धान फलेपछि उनी पनि आक्रोशित देखिए। ‘खेतीको समयमा हामीले मलका लागि सबैलाई आग्रह गर्‍यौं, कसैले चासो देखाएनन्,’ उनले भने, ‘अहिले चुनावको बेलामा चाहिँ खेतमै आएर भोट माग्दैछन् ।’

विगतमा चुनाव जितेकाले विश्वास जित्न नसकेपछि उनीजस्तै यस भेगका थुप्रै मतदाता निराश र आक्रोशित देखिन्छन्। उम्मेदवार र तिनका कार्यकर्तालाई चुनाव लागे पनि सर्वसाधारणलाई यसले छोएको छैन।

चार निर्वाचन क्षेत्र रहेको रौतहटमा सत्तापक्ष र प्रतिपक्षबीचको दुवै गठबन्धनमा गडबडी देखिएको छ। वाम(लोकतान्त्रिक र एमाले(जसपा गठबन्धनभित्रका उम्मेदवार आफैं मात्र जित्ने दाउमा लागेकाले गठबन्धनको विश्वसनीयतामा प्रश्नचिह्न खडा भएको छ।

रौतहटका चारवटै क्षेत्रमा माथिल्लो निकायबाट गठबन्धन भए पनि तल्लो तहमा फितलो देखिएको जानकार बताउँछन्। नागरिक दैनिकबाट

बिहीबार १७ कात्तिक २०७९ ०८:१४ AM मा प्रकाशित

प्रतिक्रिया