कुनै पनि क्यालेण्डर मान्छेले बनाउने हो , कुनै दैवी शक्ति , महाप्रभु वा संसारको ठूलो देशमा बस्ने हुँदैमा ठूला दिमाग भएको ठानिएका व्यक्ति आएर बनाउने होइनन् । अहिले अमेरिकाको स्पाइरोलोजिक्स नामक संस्थाले नेपालसंवत्को एल्गोरिडम र एप्स बनाइ दिएको छ भन्ने ठूलो हल्लाखल्ला भइ देशको प्रधानमन्त्रीलाई बुझाएको भन्ने पनि बडो ठूलो समाचार बनेको सुनेको हो । अमेरिकामा बस्ने मान्छे पनि मान्छे नै हुन् र नेपालमा बस्ने मान्छे पनि मान्छे नै हुन् । अमेरिकामा बस्ने मान्छेले त्रुटि नै गर्दैन नेपालमा बस्नेले मात्र त्रुटि गर्ने गर्छ भन्ने मानसिकता कसैले बनाइरहेका हुन् भने त्यो महा भूल सिवाय अरु हुने होइन । नेसंतिकोडि पात्रोको कुरा मात्र होइन , नेपालसंवतको क्यालेण्डर भनेर जतिपनि बजारमा उपलव्ध भइरहेका छन् ।
ती एउटा पनि त्रुटि नभएका चोखो छैनन् । यसरी मनको लड्डुघिउसित खाने जस्तो आदतको विकास नेपालमा कहिले देखि भएको हो त्यो भन्न गाह्रो छ । यसपाली निकालेको क्यालेण्डर भनेर कसैले दिएछ र लिएको छ भने यात उसले क्यालेण्डर भित्तामा झुण्ड्याउनका लागि, यात फोटो राम्रो भए काटेर फ्रेम हाली तस्वीर बनाउनका लागि कसै कसैले जिरामरिच पोको पार्न वा कितावहरूमा जिल्दाहाल्न प्रयोग गरिरहेका मात्रै देखिन्छ वास्तवमा तिथिमिति हेर्न प्रयोग गरिरहेका देखिएका छैनन् । यसको मतलव तिथिमिति हेर्न ती क्यालेण्डर माथि भरपर्दो भनेर मानेको बिल्कूलै होइनन् । त्यसैले अरुको त कुरै छोडौं स्वयं क्यालेण्डर बनाउने र उनका घरघरायसी प्रयोगमा समेत सदुपयोग भइरहेका छैनन् । तैपनि आगामी वर्षमा सर्बग्राह्य होस् भन्न के उपाय छ ? सोचौं विचार गरौं भन्ने चासो भने कसैले पनि देखाइआएको छैन । यो नै टीठ लाग्दो कुरा भइरहेको छ । त्यही भएर यो विषय तर्फ ध्यान जावस् भन्ने हेतुले यो लेख तयार गर्न खोजको हो ।
क्यालेण्डर बनाउनेहरुको लागि चुनौतीहरु
उनीहरु, जो क्यालेण्डर बनाउने व्यक्ति हो ,जसले आफु अगाडि लिखित दस्तावेज, शास्त्र ग्रन्थहरु , अभिलेख प्रमाणहरु नै पहिले जुटाउने गर्नु पर्दथ्यो त्यो गरिएको हुंदैन । अर्को तिर कुनै गफाष्टक लेखकहरुले भनेका कुरा , कुनै गोरा छालाले भनेका कुरा, चुच्चे नाक भएकाहरुले भनेका कुरा , ऐतिहासिक पुष्टि हुननसकेका मौखिक परम्पराका कुराहरु मात्र जम्मापारी त्यसैको प्रभाव स्वरुप लेख्ने गर्दै आएका छन् । तात्कालिक लिखित दस्तावेज, शास्त्र तथा अभिलेखतिर ध्यान नै नदिएका कारण आज यो दूर्दशा हेर्नुपरेको छ । किनभने अहिले बजारमा उपलव्ध भइरहेको नेपालसंवत्को क्यालेण्डर ३५४ दिनको छ । यस वर्षमा मात्र होइन आज भन्दा पचासौं वर्ष अघि देखि नेपालसंवत्को क्यालेण्डर यसरी नै बन्दै आएको छ ।
वास्तवमा ती बनेका क्यालेण्डरमा नियाल्यौं भने वर्षमा ३६५ दिन हुनै पर्दथ्यो तर छैन र महिना भने पछि कम्तिमा २९ दिन र बढीमा ३२ दिन हुनै पर्दथ्यो त्योपनि छैन । एक संक्रान्तिको बार देखि अर्को संक्रान्तीको बार सम्म दिन राख्दै जाँदा लामो दिन हुने महिनामा ३२ दिन सम्म हुने र छोटो दिन हुने महिनामा २९ दिनको महिना हुनेगर्दछ । अर्को दुइटा संक्रान्ती बीच एउटा चान्द्रमास प¥यो भने त्यसलाई अधिकमास मान्ने गर्दछ तर त्यो वर्ष १३ महिना हुने पनि होइन र ३९० दिनको वर्ष हुने पनि होइन । यहाँ मान्छेहरुको दिमागमा यही कुरा भुटिरहेको छ कि अधिकमास भएको वर्ष १३ महिना र ३९० दिनको वर्ष हुन्छ भन्ने घेराबाट बाहिर आउन नसक्नु नै सबभन्दा उदेक लाग्दो देखिएको छ ।
जसलाई संक्रान्ती गणना गर्न आउँदैन उसले पात्रो क्यालेण्डर बनाउँछ भनी विश्वास गर्न सकिन्न । वैशाख १ गतेको बार देखि जेष्ठ १ गतेको बार नआएसम्म गते राख्दै जाने हो । यसपाली २०८१ को वैशाख १ गते शनिवार र जेष्ठ १ गतेको वार मंगलवार भएकोले गते राख्दै जाँदा वैशाखमा ३१ गते पछि मात्र जेष्ठको १ गते आएकोले वैशाखमा ३१ दिन हुने भएको हो । यस्तै रीतले २०८१ को कार्तिक १ गते र मंसिर १ गते सम्मको वार राख्दै गयो भने कार्तिक १ गते बिहीवार र मंसिर १ गते मंगलवार परेकोले कार्तिक १ गते बिहीवारदेखि गते राख्दै जाँदा ३० दिन पछि मंसिर १ गते परेकोले कार्तिकमा ३० दिन को महिना भएको हो ।
यहाँ नेपालसंवत् ११४४ को क्यालेण्डर पल्टाएर हे¥यो भने कार्तिक को १६ गतेसम्म मात्र दिइएको छ । हुनत क्यालेण्डरमा १२ वटा संक्रान्ती कै उल्लेख पाइन्छ । जसरी वैशाखबाट जेष्ठ पुग्न ३१ दिन लाग्छ र कार्तिकबाट मंसिर जान ३० दिन देखाउन असमर्थ भएको क्यालेण्डर भरपर्दो र वैज्ञानिक ठहरिएन भन्ने स्पष्ट हुन्छ । यसो किन भइयो त भन्दा नेपालसंवत् ३५४ दिनको चान्द्रमासको वर्ष भन्ने मिथ्याकुरा दिमागमा लिएर बसेको कारणले यसो भएको हो भन्न सकिन्छ ।
यहाँ निर कुरा यो आउँछ कि सौरमासको वर्षमा ३६५ दिन हुने र चान्द्रमासको वर्षमा ३५४ दिन हुने त हो नि भनियो भने त्यो होइन भन्न खोजको बिल्कूल होइन भ्रममा नपरौं र भ्रममा नपारौं । यहाँ नेपालसंवत् ३५४ दिनको वर्ष होइन भन्न खोजेको मात्र हो । नेपालसंवत् बाहेक अरु कुनै चान्द्रमासको कुरा ल्याउँछन् भने ल्याउन् तर नेपालसंवत् ३५४ दिनको वर्ष किमार्थ होइन । यसको लागि कतिवटा प्रमाण चाहिन्छ । जतिवटा भन्यो त्यतिवटा नै पस्कन सकिन्छ । तथापि केही अकाट्य प्रमााणहरु यस प्रकार अघिसार्न सकिन्छ । जस्तै- साँच्चै नेपालसंवत् चान्द्रमासको संवत् भइदिएको भए त्यसमा संक्रान्तीको उल्लेख बारम्वार आइरहेका छन् किन ? भन्ने प्रश्न उठ्छ । यदि सौरमानको उपस्थित नभएको भए संक्रान्ती भनेको कदापि उल्लेख आउने थिएन । त्यही भएर मल्लकालमा नेपालमा नेपालसंवत् चान्द्रसौर मैत्री क्यालेण्डरको व्यवहार थियो भन्ने प्रमाणित हुन्छ । तर गतेको प्रचलन अदृश्य थियो किनकि संक्रान्ती संस्कृतितिर मात्र विकास भएर आएको देखिएकोले १२ वटा संक्रान्तीलाई पनि महत्व दिंइदै आएको स्पष्ट हुन्छ ।
संक्रान्तीको विशेषता
मत्स्यपुराणको अध्याय १८ मा संक्रान्ती व्रतको उल्लेख आइरहेको पाइन्छ । स्मृतिकौस्तुभमा रविसंक्रान्तीको उल्लेख आइरहेको कुरा स्मरण गर्न सकिन्छ । यी शास्त्रका अनुसार सूर्य एक राशिबाट अर्को राशिमा जानु ले संक्रान्तीको संकेत गर्दछ यसलाई अर्काे शव्दमा भन्नु पर्दा त्यो राशि जस्मा सूर्य प्रवेश गर्छ त्यही राशिको संक्रान्ती भनिन्छ । अतः १२ वटा राशिमा सूर्य बस्ने भएकोले १२ वटा संक्रान्ती हुन्छ । कुनैवेला अधिमास परेपनि १२ वटा राशि भएको संक्रान्तीमा कुनै परिवर्तन हुंदैन अतः १२ वटै संक्रान्ती मात्र रही रहन्छ । यी १२ वटा संक्रान्तीमा मकर संक्रान्ती र कर्कट संक्रान्तीलाई अयन संक्रान्ती पनि भनिन्छ । रात्री र दिन बराबर हुने मेष संक्रान्ती र तुला संक्रान्तीलाई विषुव संक्रान्ती भनिन्छ । मिथुन,कन्या,धनु र मीन संक्रान्तीलाई षडशीति मुख संक्रान्ती भनिन्छ भने वृष,सिंह,वृश्चिक र कुम्भ संक्रान्तीलाई विष्णुपदी संक्रान्ती पनि भनिन्छ ।
मकर संक्रान्ती भन्नाले माघे संक्रान्ती त्योवेला सूर्यले धनु राशि छोडेर मकरमा प्रवेश गर्ने भएकोले यो संक्रान्ती लाई मकर संक्रान्ती भनेको हो । यस्तै यी १२ वटै संक्रान्तीको आआफनै महत्व र पर्वसंस्कृति सनातन देखि चल्दै आएको दृष्टान्त नै छन् । चन्द्र ग्रहण र सूर्यग्रहण उल्लेख भएका अरु थुप्रै अभिलेखहरु पनि पाइन्छन् । जुनवेला नेपालसंवत् व्यवहार भइरहेको थियो ,त्यसवेलामा यो संवत्मा चान्द्रमास पनि छ र सौरमास पनि एउटै क्यालेण्डरमा समावेश भएको ज्वलन्त उदाहरण हो । यता तिर नेपाल संवत्को क्यालेण्डर बनाउंदै आउनेहरु कसैले पनि ध्यान दिएको छैन मात्र होइन । यस बारेमा उनीहरुमा कुनै ज्ञान नै छैन अतः ध्यान देओस् पनि कसरी ? यो असंभव देखिनु स्वभाविक भईहाल्यो भन्न सकिन्छ ।
१. चापागाउं अम्वरदुरुखेलको अभिलेखमा “नेपारहायनयोतक शरशैलपौषे शुकलद्वादशि प्र त्रदसिगुरुदिने............मक्रसंक्रान्तौ तववि उत्रायनसंक्रमना.................संवत् ७५९” उल्लेख छ । यसमा नेपालसंवत् ७५९ मात्र उल्लेख भएको छैन मकर संक्रान्तीको पनि उल्लेख छ र मकरसंक्रान्ती देखि सूर्य उत्तरायण हुने कुरा पनि उल्लेख छ । नेपालसंवत्मा ३५४ दिन मात्र हुन्छ भन्ने कुरा दिमागमा बोक्दै आउनेहरु यहाँ सम्म बुझ्ने प्रयासै गर्दैनन् । यहाँ तिथिले पौष शुक्ल द्वादशी भएपनि गतेले माघ १ गते भएको ज्वलन्त प्रमाण हो । केही गोरो छालाहरूले सूर्य उत्तरायण डिसेम्वर २१ याने पौष देखि हुने भनियो भन्दैमा त्यसको पछि लाग्नु पर्दछ भन्ने छ ? र केही चुच्चे नाकवालाहरुले पौषको ७ गतेदेखि नै सूर्य उत्तरायण हुने हो भन्न थाल्यो भन्दैमा त्यसैलाई पत्याएर पछि लाग्नुपर्दछ भन्ने छ ? प्रश्न उठाउन सकिन्छ । ऐना हुँदाहुँदै कुवा इनार खोज्न जानुपर्दैन भन्ने प्रमाण पनि यो हो ।
२. मंगलवजार भाइदेवलको अभिलेखमा“.दानपत्रस चोस्यं तक्व अविछिन्न याड्डन दयकं पूजा कायमाल संक्रान्ति प्रति पञ्चामृत दयके माला ।।” उल्लेख छ । त्यतिवेला नेपालसंवत् व्यवहार भइरहेको समयमा हरेक संक्रान्ती संक्रान्तीमा पञ्चामृत बनाएर चढाउनु पर्ने रीतिरिवाज परम्परा छ भन्ने यो ज्वलन्त प्रमाण हो । यसबाट पनि नेपालसंवत् चान्द्रमासकोमात्र वर्ष होइन भन्ने स्पष्ट हुन्छ ।
३. चापागाउं वज्रवाराही देवलको अभिलेखमा “सम्वत् ८१९ पौषमासे.......दसिन्दिनै मकरसंक्रको पव्र्वणिदातृ श्री चम्पापुरी स्थाने” उल्लेख छ । यसमा पनि नेपालसंवत् ८१९ मा तिथिले पौष भएतापनि माघ १ गते मकर संक्रान्ती पर्व मनाएको प्रमाण हो ।
४. पाटन छुपाटोल चिवहाल सिंढीमा रहेको अभिलेखमा “सम्वत् ८३७ भाद्र पद शुक्ल ।। अष्ठम्यान्तिथौ ।। मूलानक्षत्रे ।। आयुष्मान योगे ।। यथाकरण मुहत्तके ।। सोमवासरे कन्यारासि गते सवितरि ः धनुरासिगते चन्द्रमसि ।। अस्मिन्कन्यसंक्रान्ति यव दिने.” उल्लेख छ । यसमा नेपालसंवत् ८३७ को उल्लेखमात्र होइन कन्या संक्रान्ती भनेर असोज १ गतेको उल्लेख छ । तिथिमा भाद्र शुकल अष्टमी भएपनि असोज १ गतेको उल्लेख हुनु भनेको नेपालसंवतमा सौरमास र चान्द्रमास दुवै साथसाथै चलीरहेको प्रमाणलाई ख्याल नगर्नेहरूले मात्र ३५४ दिनको कुरा गर्छ । होइन भने अलि सूझबूझ राख्नेहरुले नेपालसंवत् ३६५ दिनकै वर्ष हो भन्न कुनै हिच्कीचाउनु पर्दैन भन्ने यो ज्वलन्त प्रमाण हो ।
५.कीर्तिपुर बाघभैरवको ताम्रपत्र अभिलेखमा “सम्वत् ७८२ पौषमासे कृष्णपक्षे चतुथ्यायां तिथौ मघनक्षत्रे शौभाग्ययोगे आदितेवासरे थ्व कुन्हु महासंक्रान्ति महापव्र्वदिने” उल्लेख छ । यसमा नेपालसंवत् ७८२ को उल्लेख मात्र होइन पौष कृष्ण पक्ष चतुर्थीमा माघे संक्रान्ती परेको छ र माघ संक्रान्तीलाई (माघ १ गते) महासक्रान्ती भनेर ठूलो संक्रान्ती मानेको विशेषता उल्लेख छ । यसबाट पनि नेपालसंवत् ३५४ दिनको चान्द्र वर्ष मात्र भएको भए संक्रान्तीको महापर्वको उल्लेख नै आउनुपर्ने थिएन भन्ने कुराको बलियो प्रमाण हो ।
ग्रहणको विशेषता
१.मातातीर्थ शिवमन्दिरको अभिलेखमा “सम्वत् ७८७ आषाढमास्ये कृष्णपक्षः ।। अमावास्यां तिथौै ।। प्वक्षनक्षत्रे ।। व्यतिपात जोगे ।। अंगारवासरे । थ्व कुन्हु श्रीसुजग्रास महापर्व दिने ” उल्लेख छ । यसमा सूर्यग्रहणको उल्लेख आउनु भनेको नेपालसंवत् केवल चान्द्रमासको वर्ष होइन भन्ने ज्वलन्त प्रमाण हो भन्न सकिन्छ । औंशीको दिनमा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर बसेपछि चन्द्रमाले सूर्यलाई छेकेको देखिनु सूर्यग्रहण भनिन्छ । यसको लागि चन्द्रमाको गति र सूर्यको गतिको गणना नभइकन भन्न सकिने कुरो होइन । यदि नेपालसंवत् चान्द्रमासको वर्ष भएकोभए सूर्यग्रहणको गणना हुने थिएन । यो एउटा सामान्य ज्ञानको कुरा हो । यसरी सामान्य ज्ञानको पनि ख्याल नराख्नेहरुले गलत कुरा संप्रेषण गर्दै आयो भन्दैमा त्यसैको पछि लागीरहनु बुद्धिमानी होइन ।
२. फर्पिड्ड भगिरथ भैयाको अभिलेखमा “.सम्वत् ८०३ माघशुक्ल पूर्णमास्यान्तिथौ अश्लेषानक्षत्र शोभनयोगे बृहस्पतिवासरे चन्द्रग्रासमहाापव्र्वणि.” उल्लेख छ । यसमा चन्द्रग्रहणको उल्लेख आउनु भनेको पनि चन्द्रमाको गति र सूर्यको गति दुबैको गणना भएपछि मात्र संभव हुने कुरा हो । पूर्णिमाको दिनमा चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आएर बसेपछि चन्द्रग्रहण देखिन्छ । यो भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यदि नेपालसंवत् चान्द्रमासको वर्ष भएकोभए चन्द्रग्रहणको गणना संभव हुने थिएन । यो पनि सामान्य ज्ञान कै कुरा भएकोले यति कुरा पनि ख्याल नराख्नेहरुले गलत कुरा संप्रेषण गर्दै आयो भन्दैमा त्यसैको पछि लागीरहनु बुद्धिमानी होइन ।
यसरी नै नेपालसंवत्को व्यवहार भइरहेको बेलामा ग्रहणको समेत उल्लेख आएका यस्ता अभिलेख प्रमाणहरू अनगिन्ती भेटिएका छन् । यी प्रमाणलाई ख्याल नै नगरी नेपालसंवत् चान्द्रमासको वर्ष हो यसमा ३५४ दिनमात्र हुन्छ तव यो अव्यवहारिक भएको भनी कुतर्क गर्दै आउनेहरू केवल कुतार्किकहरू मात्र हुन् विद्वान इतिहासकार भन्न योग्य उनीहरु होइनन् भन्न सकिन्छ ।
त्रुटिको मुख्य कारण
१. नेपालसंवत् चान्द्रमानको वर्ष भनेर कुनै उपबुज्रुकहरुले फैलाइ दिएको भ्रामक अफवाह मात्र हो तर तमाम मान्छे त्यही अफवाहलाई सत्य ठानेर त्यसकै पछि दौडिरहेको हुनाले यसको मौलिक पहिचान चिन्न सकिरहेको छैन । यो बिडम्वना हो । वास्तवमा नेपालसंवत् चान्द्रमानको वर्ष होइन यस भित्र चान्द्रमान र सौरमान दुवै समाहित छन् त्यही भएर यसमा संक्रान्ती पनि छ अधिमास पनि छ ग्रहण पनि छ भनी सप्रमाण चर्चा माथि गरिसकेको छ ।
२. नेपालसंवत् तिथिको संवत् हो , विक्रमसंवत् गतेको संवत् हो भनेर कुनै उपबुज्रुकहरुले फैलाई दिएको भ्रामक अफवाह मात्र हो तर त्यही अफवाह सत्य ठानेर तमाम मान्छेहरु त्यसकै पछि दौडिरहेको हुनाले यसको मौलिक पहिचान ओझेलमा परिरहेको छ । वास्तवमा एउटा संक्रान्तीदेखि अर्को संक्रान्ती बीचको दिन गन्ती गतेबाट हुन्छ । लिच्छविकाल कै अभिलेखतिर नियाल्ने हो भने त्यहाँ वैशाख, जेष्ठ, आषाढ भनेर १२ महिना कै उल्लेख आइरहेका प्रत्यक्ष देखीरहेकै हो । जसतै हलेदो भने पछि कोटइरहनु पर्देन भने झैं वैशाख जेष्ठ भन्ना साथ त्यहाँ संक्रान्ती छ भन्ने प्रष्ट हुन्छ । यस बारेमा पनि माथि सप्रमाण चर्चा भै सकेको छ ।
३. नेपालसंवत्मा सौरमानको उपस्थिति तड्कारो रुपले देखिएतापनि त्यसलाई हेक्का सम्म पनि राख्न नसकेका तर उच्च सम्मान पाएका विद्वानहरुले नेपालसंवत् मात्र होइन लिच्छविकालदेखि नै चान्द्रमानको प्रचलन भएकोले अधिमास भएको वर्षमा १३ महिना हुने र दिन पनि ३९० दिन हुने भनी भयङ्कर भूल गर्दै आएका हुन् । पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म जुनसुकै कोणबाट हेरे पनि ३९० दिनको वर्ष देखापर्ने संभव नै होइन र चान्द्रमास कै आँखाले हेरे पनि शक ५२९ को वर्षमा अधिमास छैन भनी थाहा हुँदा हुँदै १३ महिना र ३९० दिनको हिसाव देखाएर मान्छेहरुलाई दिउँसै तारा देखाइदिए त्यही झूठलाई मान्छेहरुले सत्य ठानेर त्यसको पछि लाग्दै आएको हुनाले नेपालसंवत्को वास्तविक पहिचानमाथि पनि बाक्लो तुँवालो लाग्न गएको हो । यस बारेमा पनि माथि सप्रमाण चर्चा भै सकेको छ ।
४. यहाँको चलन नै भनौं कतिपय मान्छेहरु गोरो छालाले र चुच्चे नाक भएका मान्छेले गरेको झूठा कुरा पनि सत्य ठानेर सहजै पत्याउछन् भने ती बाहेककाले भनेका सत्य कुरा पनि तुच्छभावको नजरले हेरी सहज पत्याउन चाहँदैनन । यो कुरा प्रायःले अनुभव गरेकै कुरा हो । अमेरिकाको स्पाइरोलोजिक्स भनियो वा विकीपेडियामा सोलाटाइस , इक्वीनोक्स जस्ता शव्द देखा पर्दा त्यसको अंक तालिका देख्नासाथ अहो! भनी चकित पर्दै आएको मात्र हो । स्पाइरोलोजिक्स भनुन् वा विकीपेडिया भनुन् उनीहरु पनि ध्रुवसत्य सिद्ध कुराको विपरीतमा जान सक्दैनन् । जसरी वैशाख र जेष्ठको दुई संक्रान्ती बीच जतिदिन निश्चित देखापर्नु पर्ने हो त्यस्तै कार्तिक र मंसिर दुई संक्रान्ती बीच पनि निश्चित दिन हुनै पर्छ तर नेसं ११४४ को क्यालेण्डरमा १६ गते सम्म देखाएर मुक्ति पाउने बिल्कूल होइन । विकीपेडियामा ग्रेगोरियन अनुसार डिसेम्वर २१ देखिसूर्य दक्षिणायन हुुन्छ भनेर लेखी दियोभन्दैमा माघ १ गते सूर्य उत्तरायण हुने अपरिवर्तनीय ध्रुव सत्यकुरा कसैले हेरफेर गर्न खोज्दैमा संभव हुने कुरो होइन । यस बारेमा पनि माथि सप्रमाण चर्चा भै सकेको छ ।
निष्कर्ष
आकाशमा कालो बादल मदारिरहेका छन् भने त्यतिबेला घामको किरण एक झलक पनि देख्न पाइएका हुँदैनन् भनेझैं उपबुज्रुकहरुले फैलाएको अफवाह कै पछि लागीरहने जमात र त्यो माहौल जहिले सम्म व्याप्त भइरहन्छ तहिले सम्म नेपालसंवत्मा घामको किरण पर्न सक्दैन , यो अटल सत्य जस्तै देखिएको छ । किनभने प्रमाणहरुको कुनै कदर नै छैन , अध्ययन अनुसन्धान भन्ने कुरा गरे बिना नेपालसंवत् ३५४ दिनको वर्ष भनेर पत्याउने र त्यही कुरालाई पत्याउने मान्छेहरुको बोलवाला भइरहुञ्जेल नेपालसंवत्लाई जहिले पनि घाटा नै भइरहने हो भन्ने पनि छर्लङ्ग भइसकेको छ । यहाँ केही मान्छे विवेकशून्य छन् र अझै पनि त्यही धारमा बगीरहनमा आनन्द मानीरहन्छन् भने पनि सबैजना त्यसकै पक्षपाती भइरहने हुन्दैनन् । त्यसकारण यो लेख मार्फत जतिपनि विवेकशील जनसमुदाय छन् , उनीहरुलाई आग्रह गरेको हो कि प्रमाणको पक्षमा सहमत हुनुहोस् अफवाहको पक्षमा नलाग्नुस् भन्ने नै हो ।
श्यामसुन्दर राजवंशी
प्रतिक्रिया