×

विप्लवको दौड्धुप, बन्दै एमसीसी बिरोधी मोर्चा बन्दै

images

अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले राजनीतिक सक्रियता बढाएका छन् ।

सरकारले संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौतालाई पारित गरेपछि त्यसको विरोधमा रहेका नेताहरूसँगको भेटवार्तालाई उनले तीव्र पारेका हुन् । सरकारले गत आइतबार एमसिसीलाई संसदबाट पारित गरेको थियो । यही सन्धर्भमा विप्लवले नेकपा एमालेका नेता डा. भिम रावल लाई आज भेटेका छन  ।

एमसीसी विरुद्ध निकै लामो समय देखि बहस पैरवी गर्दै आएका रावल उक्त सम्झौताको संसदीय अनुमोदनपछि पार्टीभित्रै तीब्र असन्तुष्टि व्यक्त गरिरहेका छन । विप्लवले एमसीसी पास भए देखी अन्य दल र नेताहरुसँग छलफल सुरु गरेका छन् । उनले बुधबार पुर्व प्रधानमन्त्री झलनाथ खनाल, माओवादी केन्द्रका बरिस्ठ नेता नारायणकाजी श्रेष्ठ र नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाइ समेत भेटेका थिए ।

आइतबार प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपछि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीमा चर्को आन्तरिक विवाद छ । पार्टीको निर्णयविपरित एमसीसी अनुमोदनमा सघाएको भन्दै खनाल र श्रेष्ठले सार्वजनिक रुपमै नेतृत्वमाथि असन्तुष्टि जनाइरहेका छन  । त्यस्तै, प्रमुख प्रतिपक्षी एमालेका नेता डा. भीम रावलसमेत एमसीसी पास गर्न अप्रत्यक्ष सघाएको भन्दै अध्यक्ष केपी ओलीसँग रुष्ट भयका छन ।

यता, एमसीसी खारेजीको मागसहित विरोध प्रदर्शन गरेका साना कम्युनिष्ट घटकहरु एमसीसी अनुमोदन भएपछि थप आन्दोलित छन् । यसबीचमा विप्लवले एमसीसीविरुद्ध आवाज उठाइरहेका विभिन्न नेताहरुलाई घर–घरमै गएर भेटघाट गरिरहेका छन  । विप्लवले एमसिसी विरोधी नेतालाई आफूहरूको समूहले आयोजना गर्न लागेको एमसिसीविरुद्धको सभामा सहभागी हुन आग्रह समेत गरेका छन् ।

नेता रावलले ट्वीटमार्फत 'विप्लव' र नेता खड्ग विश्वकर्मासँग टोखास्थित आफ्नो घरमा भेटवार्ता भएको बताए । उनले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिन आग्रह गरेको नेता रावलले जनाए ।

देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने विचार राखेको उनले बताए । एमसिसी अनुमोदनको विरोधमा कम्युनिस्ट पार्टी र मोर्चाले शुक्रबार  खुल्ला मञ्चमा हुने जनाइएको छ । सभालाई खनाल, श्रेष्ठ र रावलले पनि सम्बोधन गर्ने बताइएको छ ।

जनसभाको प्रमुख वक्तामा विप्लवसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू छन् ।

एमसिसीको विरोधमा साना दलहरूले शुक्रबारदेखि निरन्तर ६ चैतसम्म विरोधका कार्यक्रम तय गरेका छन् ।
 

बिहीबार १९ फागुन २०७८ ०३:३६ PM मा प्रकाशित

प्रतिक्रिया