काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले लामो समयदेखि थाँती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन दलहरूबीचको छलफल अत्यन्त सकारात्मक रहेको बताए ।
आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार भेटघाटका क्रममा प्रवक्ता सापकोटाले हालै दलका शीर्ष नेताहरूबीच द्विपक्षीय तथा सामूहिकरूपमा समेत छलफल भएको जानकारी दिँदै उनले सबै शीर्ष नेताहरू शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विषयमा गम्भीर रहेको बताए ।
उनले भने– ‘पार्टीहरूबीच भएको छलफल सकारात्मक रहेको र अब १२ बुँदेका पक्षधरहरूको बीचमा समीक्षासहितको बैठक बसेर कमी–कमजोरी औँल्याउँदै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक सहभागिता लगायतको कार्यान्वयनको पनि समीक्षा गर्न जरुरी छ ।’
उनले हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
संसारभरि जलवायु परिवर्तनको असर परिरहेका बेला संयुक्त राष्ट्रसंघका महासचिवले नेपाल भ्रमणका क्रममा सगरमाथाको आधार शिविरमा समेत पुगी विश्वभर एउटा सन्देश दिनुभएकाले त्यसप्रति विश्वलाई सोच्न बाध्य गराएको पनि उनले बताए ।
पार्टीले चलाइरहेको रुपान्तरण अभियान पार्टीको रुपान्तरणका साथै राज्यको पनि शुद्धीकरण अभियान भएको बताए ।
जारी अभियानबाट विगतमा पार्टीमा भएको अन्तरविरोध समाधान हुँदै गएको दाबी पनि प्रवक्ता सापकोटाको थियोे । माओवादीको रुपान्तरण अभियानले अन्तरविरोध हल हुँदै गएको उनको भनाइ थियो ।
प्रतिक्रिया