काठमाडौं। कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।
गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ। गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।
कार्तिक मास माहात्म्य वर्णन गरे अनुसार आजको दिन भक्ति भावपूर्वक गोवर्द्धन पर्वत र गौमाताको पूजा गर्नाले माता महालक्ष्मी र सरस्वतीको सदैव कृपा प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । सबेरै स्नान गरेर शुद्ध वस्त्र धारण गरी आफूले घरमा दैनिक गर्ने पूजाहरू सम्पन्न गरेर गोवर्धन पर्वत,गाई र गोरुको पूजा गरेर मात्र भोजन गर्नुपर्दछ ।
गाईगोठमा दाया तर्फ दियो, बिचमा गणेश र बायाँ तर्फ कलश र छेवैमा गोवर्धन पर्वतको स्थापना गरेर पूजा गर्नुपर्दछ । तामाको भाडा पानी राखी जौ, तिल, चन्दन, कुशको टुक्रा र सिक्का राखी कर्मपात्र बनाउनु पर्दछ ।
भाडा वा दुनोमा फुल चन्दन अक्षता राखेर अर्घ तयार पार्नु पर्दछ । गौमाता वा गोरुको लागी नैवेद्यको रूपमा मिठा भोजन बनाउनु पर्दछ । धूप, बाती र भेटी पनि तयार पार्नुपर्दछ । यति सामान तयार पारिसकेपछि दियो बाल्नु पर्दछ ।
हेमाद्रिमा र निर्णयामृतमा उद्धृत स्कन्दपुराणको वचनमा गोवर्धन पूजा र मार्गपालीपूजा अर्थात् तोरणपूजाबारे वर्णन गरिएको छ । प्रतिपदा वा आजको दिन प्रातकालमा गोवर्धन पूजा गर्नुपर्छ । त्यसपछि गाईहरूलाई सजाएर सम्पूर्ण गाई एवं गोरुहरूको पूजा गर्नुपर्दछ ।
पूजा गर्दा चित्रात्मक गोबरद्वारा निर्माण गरिएको गोवर्धन पर्वत बनाई विधिपूर्वक पूजा गर्नुपर्दछ । ॐगोवर्धन धराधराय नम : इत्यादि मन्त्रद्वारा पूजा गरी हे गोवर्धन ! हे पृथ्वीका आधार ! हे गोकुलका रक्षक ! तिमीले एक्लै हजारौँ वृक्षहरूले दिने छायाप्रदान गर्दछौ । यो पूजाबाट प्रसन्न भई कोटी कोटी गोधन मलाई प्रदान गर भनी गोवर्धन पर्वतको ध्यान गर्नुपर्दछ ।
द्वापर युगमा भगवान् श्रीकृष्णले हातले गोवर्धन पर्वतलाई उचाली मुसलधारे वर्षाबाट सम्पूर्ण गोकुलवासीको रक्षा गर्नुभएको स्मरणमा गोवर्धन पर्वत बनाई पूजा गरिन्छ भन्ने मान्यता रहेको छ । प्रकृतिको स्वरूप मानेर गोवर्धन पर्वतको पूजा गरिन्छ । अन्न, जल र बाच्ने वातावरण दिने प्रकृतिलाई सम्झेर गोवर्धन पर्वतको पूजा गरिन्छ । फलफूल, जल, नैवेद्य आदि सामानहरू अर्पण गरेर प्रसाद ग्रहण गर्नुपर्दछ । स्थान विशेष गोवर्धन पर्वको पूजा फरक फरक शैली अपनाएको पाइन्छ ।
कर्मपात्रमा राखिएको कुशको टुक्रा लिएर आफ्नो गोत्र र नाम लिएर ३३ कोटि देवता धारण गरेकी हे गौमाता मेरो पूजा देखी खुसी भएर आशीर्वाद दिनुहोस् भनी जल छोडिदिनुपर्दछ । लक्ष्मीर्या इत्यादि मन्त्रद्वारा गाईको प्रार्थना गर्नुपर्दछ ।
जुन गाई लोकपालहरूकी लक्ष्मी बनेर रहेकी छिन र जुन गाई यज्ञका लागी घिउको भण्डार बनेर रहेकी छिन् तिनले मेरा सबै पाप शमन गरुन् भनी गाईको सम्पूर्ण अङ्गहरूमा पूजा गर्नुपर्दछ । सिङ र खुरहरूमा तेल लगाई मालिस गर्नुपर्दछ । सयपत्री फुलको माला लगाई मिठामिठा भोजन गराई निम्न मन्त्र पढी प्रार्थना गर्नुपर्दछ ।
ॐ सर्वदेवमये देवी लोकानां शुभनंदिनी ।
मातमर्माभिषितं सफलं कुरु नंदिनि ।।
ॐ वसुदेव सुतं देवं, कंस चाणूर मर्दनम् ।
देवकी परमानन्दं, कृष्णं वन्दे जगद्गुरुम् ।।
ॐ आवाहयाभ्याम् देवीं, गां त्वां त्रैलोक्यामातरम् ।
यस्यां स्मरणमात्रेण, सर्वपाप प्रणाशनम् ।।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाधेको डोरो आज गाईको पुच्छरमा बान्नाले मृत्यु पर्यन्त वैतरणी नदी तर्न सजिलो हुन्छ भनी शास्त्रमा उल्लेख गरिएको छ । अन्तमा धूप बालेर पूजा स्थलमा राख्नु पर्दछ । सम्भव भएसम्म पञ्चकन्याहरूलाई दक्षिण दिई भोजन गराई समापन गर्नुपर्दछ ।
हरि: ॐ तत्सत् ।
प्रतिक्रिया