×

ताला लगाएर विश्वविद्यालयका समस्या समाधान हुँदैन : प्रधानमन्त्री

images

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । 

शुक्रवार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शङ्करदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले शैक्षिक विकासका लागि सरकार सधैँ प्रतिबद्ध रहेको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘विकासका लागि सरकार सधैँ प्रतिबद्ध छ । गुणस्तरीय शिक्षा समाजको विकासको महत्त्वपूर्ण पक्ष हो । विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिएका छन् । राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ ।’

प्रधानमन्त्री देउवाले गुणस्तरीय शिक्षा समाजको विकासको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शङ्करदेव क्याम्पसलाई नजिकैको खाली रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले क्याम्पसलाई अध्ययनका लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रिपरिषदमा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताउनुभयो । उहाँले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै तालाबन्दी र हडतालले विश्वविद्यालयका समस्या समाधान नहुने उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्रको उन्नयनका लागि सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । 

शुक्रबार​ १७ भदौ २०७९ ०१:४८ PM मा प्रकाशित

प्रतिक्रिया