×

राष्ट्रिय सहमतिको सरकार बनाउन एमाले र कांग्रेसबीच मध्यरातमा सहमति

images

काठमाडौं । राष्ट्रिय सहमतिको सरकार बनाउन नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति भएको छ। सोमबार राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति पत्रमा हस्ताक्षर गरेको एक नेताले जानकारी दिए।

काँग्रेसले एमालेका अध्यक्ष  ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेसँगै एमाले र काँग्रेसको नयाँ सरकार  बनाउने सहमति भएकाे हाे ।

नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका नेताहरूले मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेलसँग नयाँ सरकार गठन प्रक्रियाको बारेमा छलफल  गरेका थिए ।

राष्ट्रपतिबाट पनि अवरोध आउन सक्ने सम्भावना टरेपछि दुबै दलका नेताहरुबीच नयाँ सरकारको लागि सहमत भएको स्रोतले बतायो ।

दुई दलबीच सहमति हुँदा कांग्रेस, एमालेका सीमित नेतामात्रै उपस्थित थिए। कांग्रेसबाट सभापति देउवा, उनकी पत्नी आरजु राणा देउवा, प्रमुख सचेतक रमेश लेखक र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की मात्रै सहभागी थिए। एमालेबाट अध्यक्ष ओली र महासचिव शंकर पोखरेलमात्र सहभागी थिए।

सहमति अनुसार संसदको बाँकी कार्यकाल नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। पहिलो चरणमा राष्ट्रिय सहमतिको सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्नेछन्। त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको छ।

छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश सरकारहरुमा पनि ३/३ वटा सरकार बाँडेका छन् । मधेश प्रदेशमा चाहिँ मधेशकेन्द्रित दलकै नेतृत्व हुन सक्ने उनीहरुको समझदारी छ ।

एमालेले प्रधानमन्त्री अर्थमन्त्रीसहितका मन्त्रालयहरू पाउने भएको छ भने काँग्रेसले गृहसहित को मन्त्रालय पाउने भएको छ। संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पुर्‍याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।

मङ्गलबार १८ असार २०८१ ०८:४२ AM मा प्रकाशित

प्रतिक्रिया