×

कांग्रेस महाधिवेशन वैशाख २८देखि ३१ गतेसम्म गर्ने प्रस्ताव

images

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्न प्रस्ताव गरिएको छ। सानेपामा बसिरहेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त प्रस्ताव गरेका हुन् ।

उता चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आयु पनि लम्ब्याएर २०८३ जेठसम्म कायम गर्न पनि खड्काले प्रस्ताव गरेका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी पुस २६ गतेदेखि विशेष महाधिवेशन गर्ने घोषणासहित भृकुटीमण्डपको हल पनि बुकिङ गरेको अवस्थामा संस्थापनले काउन्टर प्रस्ताव ल्याएको हो ।

विशेष महाधिवेशनका कारण कांग्रेस फुट्ने आशंका भइरहेका बेला संस्थापनले महाधिवेशन आगामी फागुन २१ को चुनावपछि मात्रै गर्ने प्रस्ताव लगेको हो ।

यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६–२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेपछि अहिले पुन: नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि निर्धारित महाधिवेशनको कार्यतालिका आगामी केन्द्रीय समितिबाट पारित गर्ने भन्दै बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर स्थगित गरेका थिए । संस्थापनले भने केन्द्रीय समितिको निर्णय महामन्त्रीले उल्टाउन नसक्ने भन्दै विरोध गरेको थियो ।

शुक्रबार​ १८ पुस २०८२ ०५:५२ PM मा प्रकाशित

प्रतिक्रिया