विराटनगर । सुनसरीको लौकहीमा भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालकको मृत्यु हुने गरी गोली चलाउने सशस्त्र प्रहरी (एपीएफ) का हवलदारलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेले गोली प्रहार गर्ने हवलदार पक्राउ परेको शुक्रबार पुष्टि गरेका छन् ।
बिहीबार बिहान करिब १ बजे भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्रले गोली चलाएको थियो । गोली लागेर साहको घटनास्थलमै मृतयु भएपछि गोली हान्ने हवल्दारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको सीडीओ घिमिरेलेबताए ।
उक्त घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने संयोजक, डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत रहेको समिति बनेको थियो । त्यसपछि हिजै लौकहीस्थित सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सबै सुरक्षा कर्मचारीलाई फिर्ता बोलाइएको छ ।
छानबिन समितिलाई ७ दिनको म्याद दिएको र घटनाको प्रतिवेदन आएपछि थप कदम चालिने सुनसरीका सीडीओ वासुदेव घिमिरेले बताए ।
प्रतिक्रिया