काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेश पक्षधर नेता सुवास पोखरेलले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताए ।
‘कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प रहेन । यो हाम्रो वैधानिक अधिकार हो । विधानको बाध्यकारी व्यवस्था हो । हामी पार्टी विभाजनको पक्षमा छैनौं,’ उनले भने । साथै उनले एकता र विश्वास एकैपटक जगाउन आग्रह गर्दै केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गरोस् भन्ने माग आफूहरूको रहेको बताए ।
'अब स्पष्ट छ- नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन । विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो । यो कसैको छनोटको विषय होइन, रहेन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको वाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान, विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ ?,' विशेष महाधिवेशन पक्षले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'अतः पार्टी विधानभन्दा माथि कोही पनि हुन सक्दैन । विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु पार्टी नेतृत्वको न्यूनतम जिम्मेवारी हो ।'
विधानले तोकेको समयसीमा माग भएको तीन महिना” अर्थात् २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्ने हुँदा विधानको सीमाभित्र रही हामी विशेष महाधिवेशन मागकर्ताहरूको निवेदनअनुसार आगामी पौष २७-२८ मा विधानको धारा १७ (२) बमोजिम केन्द्रले विशेष महाधिवेशन गर्न माग गरिएको छ ।
विशेष महाधिवेशनलाई कसैको जित र हारको रूपमा नलिई पार्टीको एकता कायम राख्न तथा पार्टीको आन्तरिक लोकतन्त्र जोगाउँदै जनताप्रति जवाफदेही बन्ने अवसरको रूपमा ग्रहण गर्न आग्रह गरिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विकल्पको रूपमा विशेष महाधिवेशनको बाटो अघि सारेका छन् ।
प्रतिक्रिया