×

कृषि व्यवसायमा रमाउँदै दीपक

images

भोजपुर, १५ मङ्सिर : गाउँघरमा व्यवसाय गरेर बस्ने युवा कमै मात्र भेटिन्छन् । स्वदेशमा राम्रो आम्दानी नहुँने देखेर धेरै युवा वैदेशिक रोजगारमा जाने गरेका छन् । तर भोजपुरका युवा व्यवसायी दीपक श्रेष्ठ आफ्नै ठाउँमा कृषि व्यवसाय गरेर समाजको उदाहरणीय पात्र बन्नुभएको छ । आफ्नै ठाउँमा केही फरक उदाहरणीय कर्म गर्ने लक्ष्यले कृषि व्यवसायमा लाग्नुभएका ३४ वर्षीय श्रेष्ठले मनग्य आम्दानीसमेत गर्दै आउनुभएको छ । दश वर्षअघिबाट व्यवसायमा जोडिनुभएका युवा श्रेष्ठले प्रत्यक्षरुपमा छ जनालाई रोजगारीसमेत दिनुभएको छ । कृषि व्यवसाय गरेर वार्षिक रु १५ लाखसम्म आम्दानी लिने गरेको उहाँको भनाइ छ । लगनशील भएर आफ्नै ठाउँमा कृषि कर्म गर्नसके पैसा कमाउनका लागि विदेश जानु नपर्ने उहाँको भनाइ छ । “दश वर्षअघिबाट व्यावसायिक कृषिमा लागेको छु”, उहाँले भन्नुभयो, “वार्षिक रु १५ लाखसम्म आम्दानी हुन्छ । आफू स्वरोजगार बनेर छ जनालाई रोजगारी पनि दिएको छु । व्यावसायिक बन्न सके पैसा कमाउन विदेश जानुपर्छ भन्ने छैन । यही विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।” व्यवसायी श्रेष्ठले व्यावसायिक रुपमा कुखुरापालन, बङ्गुरपालन, माछापालनसँगै केरा खेती पनि गरिरहनुभएको छ । व्यवसायको लागि हालसम्म रु एक करोडको हाराहारीमा लगानी गरेको उहाँको भनाइ छ । व्यवसायमा लाग्न प्रोत्साहन गर्न गाउँघरका न्यून लगानी भएका युवालाई ६० प्रतिशतसम्म लगानी गरेर कुखुरापालन व्यवसायमा लाग्न सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । “व्यवसायको लागि हालसम्म रु एक करोडको हाराहारीमा लगानी गरिसकेको छु”, उहाँले भन्नुभयो, “लगानीअनुसारको प्रतिफल लिन कुनै समस्या छैन । युवालाई कृषि कर्ममा लाग्न प्रोत्साहन गर्न आवश्यक सहयोग पनि गरिरहेको छु । मैले प्रोत्साहन गरेसँगै कृषि कर्ममा धेरै युवा जोडिएका छन् ।” कृषिमा उदाहरणीय काम गरिरहेको भए पनि हालसम्म राज्यबाट कुनै सहयोग नपाएको उहाँको भनाइ छ । कोभिडकालमा धेरै ठूलो क्षति भएको भए पनि त्यो समयमा पनि कुनै राहत नपाएको श्रेष्ठले बताउनुभयो । “राज्यबाट हालसम्म कुनै सहयोग पाएको छैन”, उहाँले भन्नुभयो, “कोभिडकालमा दाना नपाएर कुखुरा, बङ्गुर मर्दा दश लाख बढी क्षति भयो । तर त्यो पनि कुनै सहयोग पाइएन । सबै लगानी आफैँ गरेको छु । राज्य लगानी शून्य छ ।” फार्मबाट उत्पादन भएको मलको सदुपयोग गर्दै व्यावसायिक केरा खेती गरिरहेको उहाँको भनाइ छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको आफ्नो अजिमा कृषि तथा पशुपालन फार्ममा दुई सय झाङ केरा लगाएको उहाँको भनाइ छ । यसलाई थप विस्तार गर्ने लक्ष्य रहेको श्रेष्ठले बताउनुभयो । हाल एक स्थानमा बङ्गुरपालन, चार स्थानमा व्यावसायिक रुपमा कुखुरापालन र दुई वटा पोखरीमा माछापालन गरिरहेको उहाँको भनाइ छ । “व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “उत्पादित मलको सदुयोग गर्दै व्यावसायिक सुन्तला, कागती खेती र तरकारी खेती गर्ने लक्ष्य छ । खेती विस्तारको लागि आफ्नोसँगै केही जग्गा लिजमा लिएको छु ।” कृषि कर्म गर्ने दक्ष जनशक्ति पाउन समस्या रहेको उहाँको भनाइ छ । राम्रो काम गर्ने मानिस पाए थप दुईदेखि तीन जनालाई रोजगारी दिने योजना रहेको उहाँले बताउनुभयो । “सबै काम आफैँले मात्र गर्न सम्भव छैन”, उहाँले भन्नुभयो, “कामदार जुटाउन भने समस्या हुन्छ । खेती विस्तार गर्न दक्ष जनशक्ति पाउन मुस्किल पर्छ । मानिसमा मेहनत गरेर खानेबानी कम हुँदै गएको अवस्था छ ।” राज्यले अनुदानका कार्यक्रम सञ्चालन गर्दा वास्तविक किसानसम्म पुग्नु पर्ने उहाँको भनाइ छ । पहँुचको भरमा कतिपय अनुदानका कार्यक्रम सञ्चालन गरिँदा वास्तविक किसानमा मारमा पर्ने गरेको उहाँले बताउनुभयो ।

शुक्रबार​ १५ मंसिर २०८० ०३:४० PM मा प्रकाशित

प्रतिक्रिया