×

भारतीको ‘त्यो... प्रस्तुति जस्ले, सभाहललाई भावुक बनायो’

images

काठमाडौँ-  “प्रदीप गिरीमा जस्तो अलौकिक र विलक्षण प्रतिभा जीवनमा कहिल्यै भेटेकी थिइन र अब कहिल्यै भेट्ने पनि छैन”, गहँभरि आँशु र रोदनले भक्कानिँदै गिरीप्रति उहाँकी धर्मपत्नी भारती सिलवाल गिरीले श्रद्धाका शब्दहरु प्रस्तुत गरिरहँदा राष्ट्रियसभा गृहको हल एकाएक स्तब्ध बन्यो ।

 नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्वर्गारोहणको १३ औँ दिनको पुण्यतिथिका अवसरमा आज राजधानीमा आयोजित शोकसभामा भारतीले पतिका बारेमा श्रद्धाञ्जली प्रस्तुत गर्नेक्रममा उहाँको प्रस्तुति र भावप्रति सभा एकाग्र बन्यो । खदिला शब्द, सुरिलो आवाज र प्रखर प्रस्तुतिले शोकाकुल घडीमा एकाग्रता बढायो । सुरुमा सहज ढङ्गले आफ्ना कुरा राख्नुभएकी भारतीले गिरीको बारेमा कुरा जति अघि बढाउँदै जानुभयो उत्तिनै पिलपिल आँशु र अवरुद्ध गलाले हलमा उपस्थित सबैलाई भावुक बनाउथ्यो । 

 प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पार्टी पदाधिकारीको ध्यान सिलवालको भावुक प्रस्तुतितर्फ केन्द्रित भयो । जसले उहाँहरुलाई पनि निकै भावुक बनाएको देखिन्थ्यो ।  कांग्रेस केन्द्रीय कार्यसमिति एवं जिल्ला कार्यसमिति काठमाडौँले संयुक्तरुपमा आयोजना गरेको शोकसभामा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेतासहित पार्टीका पदाधिकारी तथा हलभित्र खचाखच कांग्रेस नेता कार्यकर्ता एवं शुभेच्छुकको भीड केही क्षण पूरै शोकमय बन्यो ।
      
“प्रदीपमा विशाल हृदय थियो, उहाँले भेद्भावरहित सबैलाई समान माया गर्नुहुन्थ्यो । गल्ती गर्नेलाई दोस्रो पटक मौका दिनुपर्छ भन्ने उहाँको भावना हुन्थ्यो, त्यसलै उहाँको महाप्रस्थानको अन्तिम यात्रामा जनसागर उर्लियो”, भारतीले भन्नुभयो । प्रदीपमा प्रजातान्त्रिक विचारप्रति दूरदर्शी दृष्टिकोण रहेको उहाँको भनाइ थियो । स्वतन्त्रता, समानता, स्वाधीनता र अन्तरविविधितालाई एकताबद्ध गरेर लैजानुपर्छ भन्ने भावना पनि उहाँमा थियो । 

राजनीतिक कठिनाइका बेला प्रधानमन्त्री एवं पार्टी सभापतिसँग गिरी सँगै उभिनुभयो । आगामी निर्वाचनमा गिरीको प्रजातान्त्रिक समाजवादको विचारलाई जनतामा लगेर विश्वास जित्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विचार सो कार्यक्रमका वक्ताले  व्यक्त गर्नुभयो ।
      
सभापति देउवाले प्रदीप गिरिको निधनले सिङ्गो पार्टी पङ्क्ति र नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाँले स्व गिरिको विचार र उहाँका कृतिलाई अध्ययन र अनुसरण गर्नसकेको खण्डमा समाजवादी आन्दोलनलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रजातान्त्रिक समाजवादका बौद्धिक र प्रखर व्यक्तित्व गिरी कसैलाई पनि नबिजाउने, मनमा लागेको देखेको कुरा स्पष्ट राख्नसक्ने वक्ता भएको कांग्रेस वरिष्ठ नेता पौडेलले स्मरण गर्नुभयो । गिरीको यही भदौ चार गते  निधन भएको थियो ।
      
पिता मित्रलाल र माता पुण्यप्रभाको कोखबाट विसं २००४ असोज २४ गते गोवद्र्धन पूजाका दिन सिरहाको बस्तीपुरमा जन्मनुभएका गिरीले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गर्नुभएको थियो । उहाँ समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरूसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल–भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता हुनुहुन्थ्यो । उहाँ राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता, ग्रामीण किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रबिन्दुमा राख्नुहुन्थ्यो ।
 
नेता गिरी नेपालमा राजनीतिक दल प्रतिबन्धित भएको समय वनारसबाट कांग्रेस पार्टीमा आबद्ध भई पार्टी सङ्गठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरङ्कुश पञ्चायतका विरुद्ध निरन्तर सङ्घर्षरत रहनुभयो । सबै किसिमका निरङ्कुशताविरुद्ध प्रखर वैचारिक सङ्घर्षमा होमिनुभएका गिरी लोकतान्त्रिक आन्दोलनमा वैचारिक र साङ्गठनिक अग्रणी भूमिका निभाउने क्रममा पटकपटक जेल र निर्वासनमा रहनुभयो । उहाँ कांग्रेस पार्टीमा मात्रै नभएर नेपाली र विदेशी राजनीतिक समकक्षीबीच लोकप्रिय हुनुहुन्थ्यो । दार्शनिक नेता प्रदीप गिरिको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको कांग्रेसको ठहर छ ।

बिहीबार १६ भदौ २०७९ ०९:२३ PM मा प्रकाशित

प्रतिक्रिया