×

नेपाल क्रिकेट संघद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

images

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो । २९ पुसमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो । बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।  

आजैमात्र सोही मुद्दामा क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।  उच्च अदालतको आदेशविरुद्ध मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको महन्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सह–न्यायाधिवक्ता) सञ्जिवराज रेग्मीले बताए ।

महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरेको छ । 
पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

२० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो ।

बुधबार १८ माघ २०७९ ०९:३२ AM मा प्रकाशित

प्रतिक्रिया