विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सिटी सफारीका चालकको मृत्यु भएको छ । सशस्त्र प्रहरीका अनुसार गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको दुई वटा अटो सिटी सफारी चेकजाँच गर्न खोज्दा एउटा अटोमा सवार व्यक्तिले गोली चलाएपछि प्रहरीले जवाफी फायर गरेको खुलेको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार एसएलआरबाट पाँच राउन्ड गोली चल्दा सिटी चालक लौकलीका अन्दाजी ४५ वर्षीय विजयको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरीले कानुनी प्रक्रिया पूरा गरी मुचुल्का उठाउने काम गरिरहेको छ । सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले भने तस्करको समूहकसँग दोहोर गोली हानाहान भएको र त्यसक्रममा एक जनाको मृत्यु भएको दाबी गरे ।
‘चोरीको सामान रहेको सवारी रोक्न खोज्दा गोली प्रहार भयो’, उनले भने, ‘एपीएफले जवाफी फायरिङ गरेको हो ।’
मृतक साह स्थानीय भएको सुनसरी प्रहरी प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी दिए । साहले सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए ।
सोही क्रममा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले उनलाई गोली प्रहार गरेको हो । मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो । विवाद बढ्दै जाँदा प्रहरीले गोली चलाएको र साहको घटनास्थलमै मृत्यु भएको दाबी गरिएको छ ।
सिटी चालकको मृत्यु भएपछि उक्त स्थानमा सयौंको संख्यामा सर्वसाधारण जम्मा भएका छन् । स्थानीयको भीड बढेपछि प्रहरीले घटनास्थल नियन्त्रणमा लिन रिजर्भ टोलीले दुई सेल अश्रु ग्यास फालेर तितरवितर पारेको छ । यता प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया