×

ऐतिहासिक ‘आगम छेँ’ पुनःनिर्माण हुने निश्चित

images

काठमाडौँ पुस : विवादका कारण पुनः निर्माणको कामअघि बढ्न नसकेको हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम छेँ को पुनःनिर्माणले गति लिने भएको छ ।  

    हनुमानढोका क्षेत्रको नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर (आगम छेँ) नेपाली सीप र शैलीमा पुनःनिर्माण गर्ने विषयमा सरोकारवाला कार्यालयबीच साझा मत भएसँगै उक्त ऐतिहासिक सम्पदाको पुनःनिर्माण हुने निश्चित भएको हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनाललेले जानकारी दिनुभयो ।   

    विसं २०७२ वैशाख १२ गतेको भूकम्पले यस क्षेत्रका ५८ सम्पदामा क्षति भएको थियो । भूकम्पले जीर्ण भएका वसन्तपुर क्षेत्रका केही सम्पदा पुनःनिर्माण भइसकेका छन् । केही पुनःनिर्माणका चरणमा छन् । 

    चौक्वाठ शैलीमा निर्मित मल्लकालीन दरबारको दक्षिणपश्चिम कुनामा अवस्थित आगमछेँ मन्दिर पुनःनिर्माणलगायत दरबार क्षेत्रमा रहेका शिवपार्वती डवली, मसान चोकमा थुपारिएका मक्किएका काठ व्यवस्थापन, नारायण सत्तल, कामदेव मन्दिरको पनि पुनःनिर्माण हुने भएको छ । 

आगमछेँ

    नेवार परिवारमा आफ्नै छुट्टै भगवान्स्थल हुन्छ । यसलाई आमग घर मानिन्छ । यसमा परिवारका सदस्यबाहेक अन्यलाई प्रवेश गर्न अनुमति हुँदैन । यसलाई कोठा वा मन्दिरका स्वरुपमा बनाइएको हुन्छ । 

    हनुमानढोखा दरबारभित्रको मोहनचोक प्रताप मल्लले बनाएका हुनाले यससँगैको आगमछेँ पनि उनैले बनाएको जनविश्वास छ । यो तान्त्रिक दशमहाविद्या देवी अन्नपूर्णको मन्दिर हो । 

    मन्दिरभित्र महत्त्वपूर्ण भित्रे चित्र छ । मन्दिरको चारैतिर तोरणसहित कलात्मक ढोका छन् । आकर्षक झ्यालहरू छन् । टुँडालमा शिव सम्प्रदायका देवीदेवताका प्रतिमा कोरिएका छन् । प्रत्येक छानाको कुनामा मयुर आकृति छन् । प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमानढोका दरबार हुन गएको जानकार बताउँछन् । त्यसपछि श्री ५ पृथ्वीनारायण शाहले विसं १८२६ मा वसन्तपुर दरबार निर्माण गराएपछि यसलाई वसन्तपुर दरबार पनि भन्न थालिएको इतिहास छ । 

    हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ । सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, काल भौरव, काष्ठमण्डपलगायत वरिपरि रहेका अन्य सम्पदालाई पनि यहाँको महत्त्वपूर्ण सम्पदा मानिन्छ । यस स्थानमा मुख्यगरी विभिन्न ११ वटा महत्त्वपूर्ण चोक छन् । त्यसैगरी यहाँको अर्को महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घरको निर्माण कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले विसं १८१३ मा गराएका हुन् । 

    ‘युनेस्को’द्वारा बहुमूल्य सम्पदाका रूपमा सूचीकृत विश्वका स्मारक र स्थानलाई विश्व सम्पदा भन्ने गरिन्छ । यसमा कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्त्व राख्ने धरोहरलाई यसमा समावेश गरिन्छ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ र उक्त समितिमार्फत नै संरक्षण गरिन्छ । 

आइतबार​ १५ पुस २०८० ०८:५६ AM मा प्रकाशित

प्रतिक्रिया